२०८२ माघ १३, मंगलवार ०७:५२

पर्सामा केही थान पूर्वमन्त्री सदाबहार उम्मेदवारका रुपमा निर्वाचित हुँदै आएका छन् । उनीहरु विगत तीन दशकभन्दा बढी समयदेखि लगातार संसदीय निर्वाचन लड्दै निर्वाचित हुँदै आएका छन् । भने यसपटक पनि चुनावी मैदानमा उत्रिएका छन् ।

०४८ को निर्वाचनदेखि हालसम्म सबै निर्वाचन लड्दै आएका नेपाली कांग्रेसका पुराना तीन नेताहरू आगामी फागुन २१ को निर्वाचनका लागि पनि उम्मेदवारी दिएका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर २ बाट ६२ वर्षीय पूर्वमन्त्री अजयकुमार चौर सिया, निर्वाचन क्षेत्र नम्बर ३ बाट ६८ वर्षीय पूर्वमन्त्री सुरेन्द्र चौधरी र निर्वाचन क्षेत्र नम्बर ४ बाट ६८ वर्षीय पूर्वमन्त्री रमेशप्रसाद रिजाल चुनावी मैदानमा उत्रिएका छन् ।

पर्साको क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पूर्वमन्त्री रिजाल आठौँपटक संसदीय निर्वाचनमा होमिएका छन् । ०४८ देखि संसदीय निर्वाचन लड्न थालेका उनी चारपटक निर्वाचित भएका छन् । तीनपटक पराजित उनी निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य रिजालले ०४८, ०५२, ०६४ र ०७९ सालको निर्वाचन जितेका थिए ।

०५६, ०७० र ०७४ को निर्वाचनमा भने रिजाल पराजित भए। अहिले ०८२ मा पुनः मैदानमा होमिएका छन् । शेरबहादुर देउवानिकका रिजाल ०७९ को निर्वाचन निर्वाचित भएपछि पहिलोपटक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । ६ दशक लामो समय राजनीतिमा व्यतीत गरेका उनले ०७९ को निर्वाचनमा नेकपा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरे ।

रिजालले ३१ हजार १४२ र मन्सुरीले २५ हजार ६१२ मत पाएका थिए । कांग्रेसका अर्का केन्द्रीय सदस्य ६८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी पनि आठौँपटक संसदीय निर्वाचनमा उत्रिएका छन् । ०४८ देखि निर्वाचन लड्दै आएका उनले ०४८, ०५२, ०५६ र ०७० सालको निर्वाचन जितेका थिए । तर ०६४, ०७४ र ०७९ सालको निर्वाचनमा भने उनी लगातार तीनपटक पराजित भए ।

चौधरी अहिले पाँचौँ जितको खोजीमा छन् । चारपटक सांसद निर्वाचित भएका र पटक–पटक मन्त्री भइसकेका चौधरी नेपाली कांग्रेस पर्साका पूर्वसभापतिसमेत हुन् । उनीसँग विज्ञान तथा प्रविधि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको अनुभव छ । त्यस्तै कांग्रेसका केन्द्रीय सदस्य ६२ वर्षीय अजयकुमार चौरसिया अहिले छैटौँपटक संसदीय निर्वाचनमा होमिएका हुन् । ०५६ सालदेखिका सबै निर्वाचन लड्दै आएका चौरसिया ०८२ सालको निर्वाचन जित्ने दाउमा छन् ।

०५६, ०६४ र ०७९ सालको निर्वाचन जितेका चौरसिया लगातार दुईपटक पराजित भए । उनले ०७० र ०७४ सालको निर्वाचनमा लगातार हार व्यहोरेका थिए । चौरसिया ०५६ सालको निर्वाचन जित्दा सहायकमन्त्री बनेका थिए । ०७९ सालको निर्वाचन जित्दा केपी ओली नेतृत्वको सरकारमा कानुनमन्त्री बने । कांग्रेसमा विद्यार्थी राजनीतिदेखि सक्रिय उनी ०५१ सालदेखि पर्सा कांग्रेसको जिल्ला कार्यसमिति सदस्य बनेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए ।

Comment


Related News

Latest News

Trending News