नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि केही समयभित्रै आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रवक्ता देवराज चालिसेले सो कुरा जानकारी दिएका छन्।
‘केही समयपछि पार्टीको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ,’ चालिसेले भने,‘घोषणपत्रमा सुशासन, विकास र भविष्यप्रतिको यथार्थवादी तथा विश्वसनीय कार्यक्रमहरू समावेश हुनेछन्।’
कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेटिने भएको छ। प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन, विकास र व्यवहारिक कार्य योजनालाई मुख्य आधार बनाउने बताएका छन्।
प्रवक्ता चालिसेका अनुसार कांग्रेसको घोषणापत्र केवल आकाङ्क्षा र प्रतिबद्धतामा सीमित नहुने, त्यसलाई कार्यान्वयन गर्न आवश्यक स्रोत र उपायसमेत स्पष्ट रूपमा उल्लेख गरिनेछ। ‘घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्,’ उनले भने।
हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको चालिसेले जानकारी दिए। स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरेर राष्ट्रिय आवश्यकतासँग जोडिने उनको भनाइ छ।
‘कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ,’ प्रवक्ता चालिसेले भने, ‘यो घोषणापत्रले हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ।’


