बारा जिल्लाको परवानीपुर गाउँपालिका–१, रहरियाडिह गाउँमा मध्यराति भएको साङ्घातिक आक्रमणमा आमा–छोराको ज्यान गएको छ भने परिवारका अन्य तीन सदस्य गम्भीर घाइते भएका छन्। शान्त गाउँमा भएको यो घटनाले स्थानीयवासी स्तब्ध बनेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन्। अज्ञात समूह घरभित्रै प्रवेश गरी धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनामा परी ५५ वर्षीय जगरुप मण्डल र २० वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। उनीहरूको परवानीपुरस्थित एल।एस। न्यूरो अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूले घाइतेहरूको अवस्था नाजुक रहेको बताएका छन्।
प्रहरी नायब उपरीक्षक ९डीएसपी० विजयराज पाण्डे का अनुसार घटनालगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। “घटनास्थल सुरक्षित राखेर प्रमाण संकलन गरिएको छ। अपराधीको खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ,” उनले जानकारी दिए।
स्थानीय बासिन्दाका अनुसार घटना रातिको समयमा भएको थियो। घर वरिपरि अन्धकार रहेका कारण आक्रमणकारीको पहिचान हुन नसकेको बताइन्छ। घटना थाहा पाएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थलबाट केही महत्वपूर्ण वस्तुहरू फेला पारेको जनाएको छ। मृतकका आफन्त र स्थानीयसँग सोधपुछ भइरहेको छ भने हत्यामा संलग्नको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र बनाइएको प्रहरीले जनाएको छ।
घटनापछि रहरियाडिह गाउँ शोकमग्न बनेको छ। प्रहरीले शंकास्पद गतिविधि वा जानकारी भए तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।


