२०८२ माघ १४, बुधबार १५:३०

नेपाली कांग्रेसका सभापति गगन थापाले विगतको गल्ती कमजोरीहरू सुधार्ने सङ्कल्पसहित आफू मधेशमा आएको बताएका छन्। आज सर्लाही ४ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै मधेश कांग्रेसको जन्मभूमि भएको जिकिर गरे।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै-

चुनावपछि ५ वर्ष संसद् रहन्छ। यो वर्षको संसद्को समय अब नेपालले खेर फाल्न सक्दैन। यो समय नेपालको आर्थिक प्रगतिको समय हुनुपर्छ। यो समय नेपालको खेती किसानी गर्ने मानिसहरूको अवस्था बदल्ने समय हुनुपर्छ। यो समय बेरोजगार युवाहरूले रोजगार प्राप्त गर्ने समय हुनुपर्छ। यो समय हाम्रो विद्यालयको र हाम्रो स्वास्थ्य चौकीको अवस्था बदलिने समय हुनुपर्छ।

पाँच वर्ष कांग्रेसले यो समयको सदुपयोग गर्छ। त्यसको लागि कांग्रेस आएको छ। त्यसको लागि सबैभन्दा ठुलो तागत कांग्रेस कहाँबाट प्राप्त गर्न चाहन्छरु कांग्रेस मधेशबाट प्राप्त गर्न चाहन्छ। मधेश कांग्रेसको जन्मभूमि हो। कांग्रेसलाई बनाएको, कांग्रेसलाई सम्हालेको, कांग्रेसलाई हुर्काएको, कांग्रेसलाई बलियो बनाएको यही धर्तीले हो। यसैले टिकाएको हो।

हामीले थुप्रै गल्ती कमजोरीहरू गर्‍यौँ। ती गल्ती कमजोरीहरू सुधार्ने सङ्कल्प सहित आज हामी मधेश आएका छौँ। मधेशले कांग्रेसलाई सधैँ न्याय गर्‍यो। तर कांग्रेसले न्याय गर्ने कुराहरूका पछिल्लो समयमा केही गल्ती हामीबाट भएकै छ। सिङ्गो मधेशको सम्मान, मधेशको प्रतिनिधित्व, मधेशले प्राप्त गर्नुपर्ने न्याय अधिकारको सवालमा थुप्रै नयाँ पार्टीहरू आए। थुप्रै मधेश केन्द्रित पार्टीहरू पनि आए। मैले कसैलाई पनि केही पनि आरोप लगाउँदिन।

तर कांग्रेसको जननी हो मधेश, हाम्रो आमा हो। हामी हो यसको जेठो छोरा। हामीले गर्नुपर्छ यसको सेवा। हामीले पूरा गर्नुपर्छ यहाँको मागका सन्दर्भमा भने हामीले जुन जिम्मेवारी उठाउनुपर्ने थियो कहीँ न कहीँ त्यो चुक हामीबाट भयो। त्यसकारणले गर्दा आज नेपाली कांग्रेस पार्टी आफ्नो सभापतिलाई यही मधेशको उम्मेदवार बनाएर सिङ्गो मधेशमा होमिन आएको छ। मधेशको जिम्मा हामी लिन्छौँ।

मधेशको माग हामी पूरा गर्छौँ। यसको निम्ति सर्लाहीको एउटा क्षेत्रबाट मात्र होइन, सर्लाहीको चारै वटा क्षेत्रबाट, सर्लाहीबाट मात्र होइन, मधेशको बत्तीसै वटा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवारहरूले यो पटक मधेशबाट एउटा सहयोग, साथ, समर्थन प्राप्त गर्नुपर्ने छ। त्यो जिम्मेवारी बोकेर गएर नेपाली कांग्रेस पार्टीले यो पाँच वर्ष सिङ्गो देशको र देश भित्र मधेशको सेवा गर्ने आफ्नो कर्तव्य पूरा गर्छ। यो सङ्कल्प लिएर हामीहरू आएका छौँ। यो कुरा तल तपाईँहरूले घरघरमा पुर्‍याउनुपर्छ।

Comment


Related News

Latest News

Trending News