आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले सक्रियता बढाउँदै २१ जनालाई स्पष्टीकरण सोधेको छ ।
आयोगको पछिल्लो कारबाहीको सूचीमा कोशी प्रदेशका मुख्यमन्त्री, संघीय मन्त्रीदेखि बालेन्द्र साहसहितका चर्चित उम्मेदवारसम्म रहेका छन् । आयोगका अनुसार आचारसंहिताको प्रतिकूल हुने गरी प्रचारप्रसार गरेको वा पदीय मर्यादा उल्लंघन गरेको आधारमा २१ जना भन्दा बढी व्यक्ति र निकायलाई स्पष्टीकरण माग गरिएको छ ।
सप्तरी–२ का उम्मेदवार चन्द्रकान्त(सीके) राउत, झापा–५ का उम्मेदवार बालेन्द्र शाह, भक्तपुर–२ का महेश बस्नेत र जाजरकोट–१ का शक्ति बहादुर बस्नेतलाई आयोगले जवाफ माग गरेको छ।
यस्तै, काठमाण्डु–४ का डा. सुरेन्द्र भण्डारी र काठमाडौँ–५ की निशा अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
झापा–५ का रास्वपाका उम्मेदवार बालेन्द्रले सोही क्षेत्रका एमाले उम्मेदवार केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवार हरूबीच डिबेट गर्न तयार रहेको भनेर फेसबुकमा लेखेको सामग्रीमुनी आरोप लगाउँदै प्रतिक्रिया लेखेको भन्दै स्पष्टीकरण माग गरिएको छ ।
बालेन्द्रले जनकपुरधाममा गरेको भाषणको सन्दर्भलाई लिएर अशोभनीय टिप्पणी गरेको भन्दै आयोगले भक्तपुर– २ का एमाले उम्मेदवार महेश बस्नेतलाई पनि स्पष्टीकरण सोधेको छ ।
राष्ट्रिय चिह्न गाइबारे साम्प्रदायिक विद्वेष फैलाउने गरी अभिव्यक्तीय दिएको उजुरीका आधारमा रास्वपाका उम्मेदवार खगेन्द्र सुनारलाई आयोगले स्पष्टीकरण सोधेको छ ।
सार्वजनिक स्थानमा चुनाव चिह्नको तोरण बनाएर राखेको विषयमा राउतलाई स्पष्टीकरण सोधेको छ ।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र सोही प्रदेशका मन्त्री इस्राइल मन्सुरीलाई सरकारी स्रोत वा पदीय प्रभाव प्रयोग गरेको विषयमा आयोगले प्रश्न उठाएको छ। मुख्यमन्त्री कार्कीले भने आयोगलाई जवाफ पठाइसकेका छन् ।


