आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिरहा क्षेत्र नम्बर ४ मा पाँचजना पूर्वमन्त्री चुनावी मैदानमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट टिकट नपाउने देखेपछि हतारहतारमा टिकट पाउनकै लागि धर्मनाथप्रसाद साहले माघ ५ गतेपछि नेकपा एमालेमा फर्किए । उनी एमालेबाट नै उम्मेदवारी दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट सिराहा–४ को उम्मेदवार दाबी गरे पनि साहले टिकट नपाउने भएपछि एमालेमा टिकटकै लागि सशर्त प्रवेश गरेका थिए । त्यसपछि नेकपाले अजय शंकर नायकलाई उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा तत्कालीन सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको उम्मेदवार बनेका साह जसपा उम्मेदवार वीरेन्द्र महतोसंग पराजित भएका थिए । महतोले एमाले–जसपा गठबन्धनबाट निर्वाचन जितेका थिए । महतोले २४ हजार १०२ मत ल्याउँदा जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याएका थिए ।
त्यस्तै तेस्रोमा रहेका साहले भने १४ हजार ६५६ मत मात्रै ल्याउन सकेको थिए भने रास्वपाका विमलकुमार तिवारीले १ हजार ६ सय ८३ मत ल्याएका थिए । साहले २०५६ मा सोही क्षेत्रबाट एमाले उम्मेदवार बनेर नेपाली कांग्रेसका प्रदीप गिरीलाई पराजित गरेका थिए । २०६३ मा सामान्य प्रशासन राज्यमन्त्री समेत रहेका साहको उम्मेदवारी परेसंगै सिराहा– ४ मा पाँचजना पूर्वमन्त्री उम्मेदवार बनेका छन् ।
त्यस्तै नेकपाका अजय शंकर नायक पनि २०७३ सालमा कानून मन्त्री बनेका थिए । उनी २०७० को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा) बाट समानुपतिक सांसद बनेका थिए । २०७९ मा निर्वाचन जितेका वीरेन्द्र महतो यसपटक भने जनमत पार्टीबाट उम्मेदवारी दिएका छन् ।
महतो २०८० सालमा वनमन्त्री बनेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट राजकिशोर यादवले उम्मेदवारी दिएका छन् । उनी २०७९ को निर्वाचनमा सिराहा– २ बाट निर्वाचित भएका थिए । २०७४ मा भने उनी सिराहा– ४ बाटै निर्वाचित भएका हुन् । २०६४ मा तत्कालीन मधेशी जनअधिकार फोरमबाट निर्वाचन जितेका यादवले २०७० मा भने पराजित भएका थिए ।
२०६९ सालमा तत्कालीन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका यादव २०७८ सालमा केही समयका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका थिए । सो क्षेत्रमा उम्मेदवार बनेका अर्का पूर्वमन्त्री विश्वेन्द्र पासवान छन् । २०६४ र २०७० को निर्वाचनमा समानुपातिक सांसद बनेका पासवान २०७३ सालमा विज्ञान प्रविधि मन्त्री रहेका थिए । पूर्वमन्त्री पासवान भने यसपटक बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रमा कांग्रेसले चन्द्रकला कुमारी यादवलाई उम्मेदवार बनाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट तपेश्वर यादव उम्मेदवार बनेका छन् । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट समानुपातिक तर्फ सबैभन्दा धेरै मत जनमत पार्टीले पाएको थियो । जनमत पार्टीले १६ हजार १६० मत ल्याउँदा जसपाले १० हजार ८५१ मत ल्याएको थियो ।
एमालेले भने ९ हजार १०७ ल्याउँदा चौथोमा रहेको माओवादीले ६ हजार ६६५ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली कांग्रेसको समानुपातिक मत ६ हजार २१९ थियो भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ३ हजार ७७९ मत लयाएको थियो । तत्कालीन नेकपा एकिकृत समाजवादी (हालको नेकपा) ले ३ हजार ८६ मत ल्याएको थियो भने रास्वपाले १८ सय ल्याएको थियो । २०७९ सालको स्थानीय निर्वाचनमा भने यस क्षेत्रमा एमालेले धेरै वडा जितेको थियो ।
यो क्षेत्रमा मिर्चैया नगरिपालिका, कर्जन्हा नगरपालिका,कल्यापुर नगरपालिका, विष्णुपुर गाउँपालिकाको ३ र नरहा गाँउपालिकाको ३ वटा गरी ४१ वटा वडा पर्छन् । यसमध्ये एमालेले १५ वटा वडा जितेको थियो भने जसपाले ९ र माओवादी केन्द्रले ६ वटा जितेको थियो । त्यस्तै नेपाली कांग्रेसले ५, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीले २÷२ वटा वडा जितेको थियो भने २ जना स्वतन्त्र उम्मेदवारले २ वटा वडा जितेका थिए ।


