सात महिनाकी गर्भवती अंशु महतोको हत्याकाण्डमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै धनुषा जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको छ ।
जनकपुरधाममा बिहीबार जिल्ला अदालत अगाडि पीडितहरुको एक समूहले अंशु महतो हत्या प्रकरणमा कर्तव्य ज्यान भएको दाबी गर्दै उनीहरुले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिन गर्दै हत्याकाण्डमा संलग्न सबै दोषीलाई कानुनी दायरामा ल्याएर कडा भन्दा कडा सजाय दिन सरकार र न्यायिक निकायसँग माग गरेका छन्।
साथै, पीडित परिवारलाई न्याय सुनिश्चित गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत गरेका छन् । पीडित परिवारका अनुसार अंशु कुमारीको विवाह २०८० वैशाख ११ गते शिवकुमार महतोसँग भएको थियो।
विवाहपश्चात् दाइजोसम्बन्धी अतिरिक्त माग गर्दै मानसिक तथा शारीरिक दबाब दिइँदै आएको र सात महिनाकी गर्भवती अवस्थामा समेत मृतकले निरन्तर हिंसा र दुव्र्यवहार सहनुपरेको परिवारको दाबी छ ।
परिवारले २०८२ असोज १३ गते दिउँसो छोरीसँग टेलिफोन सम्पर्क गर्ने प्रयास गर्दा विस्तृत जानकारी नदिई फोन काटिएको र सोही दिन साँझ स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै अस्पताल लगिएको जानकारी समयमै नदिइएको आरोप लगाएको छ । यसले घटनालाई शंकास्पद बनाएको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले जाहेरी दर्ता भएपछि आरोपित शिवकुमार महतोलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले आफू हाल बाहिर रहेको जानकारी दिए ।
यद्यपि अंशु महतोको ससुराली घर बटेश्वर गाउँपालिका– १ स्थित चित्रपुरमा रहेको छ भने माइती घर श्रीरेश्वरनाथ नगरपालिका– ९ स्थित इच्छापुरमा रहेको छ ।


