२०८२ माघ १६, शुक्रबार ०८:१५

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई आगामी महाधिवेशनबाट फेरि पार्टी सभापति बन्नु पर्ने भएकाले जनताको काम गरेर देखाउने चुनौती रहेको बताएका छन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ मा बिहीबार मतदातालाई सम्बोधन गर्दै थापाले आफ्नो राजनीतिक परीक्षा र कामको सुरुवात भर्खरै भएको बताए । सभापति थापाले भने, ‘मेरो त भर्खर सुरु हुँदै छ । अब कांग्रेसको अधिवेशन गर्नु छ, त्यहाँबाट फेरि मलाई सभापति बन्नु छ, त्यसैले यहाँका मतदाताले जिताएर पठाएपछि हामीले गलत मान्छे छान्यौँ भन्ने अवस्था म आउन दिन्नँ ।’ उनले सर्लाहीका मतदाताको मन जित्न नसके वा एक जनाले मात्र गुनासो गर्ने अवस्था आए पनि त्यसले आफ्नो राष्ट्रिय राजनीति र आगामी सभापति बन्ने लक्ष्यमा ठूलो क्षति पुग्ने आफूले बुझेको बताए ।

उनले भने, ‘एक जनाले मात्रै पनि गुनासो गरे भने त्यसले मलाई ठुलो क्षति हुन्छ। त्यसैले एक जनालाई पनि गुनासो गर्ने मौका नआउने गरी मैले काम गर्नुपर्ने छ ।’ आफू काम गर्नका लागि नै काठमाण्डुको सुरक्षित क्षेत्र छोडेर सर्लाही आएको प्रस्ट पार्दै उनले आगामी ५ वर्ष काम गरेर अर्को चुनावमा मतदाताले नै यो क्षेत्र छोड्न पाउँदैनौँ भन्ने अवस्था सिर्जना गर्ने दाबी गरे ।

उनले भने, ‘अहिले मत माग्न म तपाईंहरूको घरदैलोमा आएको छु, काम गरेर यस्तो वातावरण बनाउँछु कि अर्को पटक तपाईंहरू मेरो घरदैलोमा आएर यहाँबाटै उठ्नुपर्छ भन्नुहुनेछ ।’

Comment


Related News

Latest News

Trending News