२०८२ माघ १७, शनिबार ०७:५७

नेपाली कांग्रेसको अन्तरिक विवादलाई सुल्झाउँदै उम्मेदवारहरु उत्साहित हुन थालेका छन् । मधेश प्रदेशको राजधानी रहेको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसको चुलिएको विवाद समाधान भएको छ ।

कांग्रेसका उम्मेदवार रहेका पूर्वगृहमन्त्री विमलेन्द्र निधिसित असन्तुष्ट रहेका रामसरोज यादव, जीवनाथ चौधरीलगायतको समूह आमनिर्वाचनमा पार्टीको प्रतिष्ठा जोडिएकाले गाछी छापमा मतदान गर्ने प्रतिबद्धता जनाएको छ । नेता निधि र हामीबीच चुनावमा एकजुट भएर लाग्ने सहमति भएको जीवनाथ चौधरीले जनाएका छन् ।

‘आमनिर्वाचनमा सबै एकजुट भएर कांग्रेसका उम्मेदवारको पक्षमा इमान्दारीपूर्वक लाग्ने छौ’ उनले भने, पार्टीको आन्तरिक असन्तुष्टिहरु थाँती राखिएको छ । त्यस सम्बन्धमा चुनावपछि छलफल हुनेछ । समानुपातिक उम्मेदवारको सूची दर्ताभएदेखि नीतिगत रुपमा असन्तुष्टि व्यक्त गर्दै आएका चौधरीको कारण धनुषा कांग्रेसमा घात हुने अनुमान विपक्षी दलका उम्मेदवारहरुले लगाएका थिए । उनीहरुले कांग्रेसमा चुलिएको असन्तुष्टिले चुनाव जित्नेसम्मको निष्कर्ष निकालेको बताइन्छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा भएको सहमतिले धनुषाको ४ वटै निर्वाचन क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ । निर्वाचन क्षेत्र नम्बर ४ मा विगतमा देखिएका असन्तुष्टिहरु मत्थर भइसकेको छ । त्यहाँ रहेको पूर्वमन्त्री महेन्द्र यादव र डा. चन्द्रमोहन यादव दुवै हातेमालो गरी चुनाव प्रचारमा जुटेका छन् । सो क्षेत्रका प्रभावशाली युवा नेता सन्तोष यादव एमालेबाट कांग्रेसमा फर्किसकेका छन् । कांग्रेस धनुषाका सभापति योगेन्द्र पँजियारले धनुषामा कांग्रेसको जीतलाई प्रतिष्ठासित जोडेका छन् ।

कांग्रेसका धनुषा– १ मा युवा नेता रामपल्टन साह र २ मा दिनेशप्रसैला यादव रहेका छन् । धनुषा ३ मा असन्तुष्ट पक्षहरु प्रतिबद्धता देखाएसंगै १ र २ मा पनि असन्तुष्टहरु उम्मेदवारसित जोडिएको युवा पत्रकार सुरेन्द्र यादवले बताएका छन् । धनुषाको सहरी क्षेत्रमा हुने गतिविधिले चारै क्षेत्र प्रभावित हुने गरेको छ’ नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झाले भने, कांग्रेसका लागि असन्तुष्टहरु समेट्नु सकारात्मक देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका उम्मेदवार निधिले निवर्तमान सांसद एवं एमाले उम्मेदवार जुली कुमारी महतो र परिवर्तनको नारा लिएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का मनिष झा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । प्रारम्भिक चरणमा कांग्रेस, एमाले र रास्वपाका उम्मेदवारहरुको प्रचारप्रसार अगाडि देखिएको छ ।

जनता समाजवादी पार्टी(जसपा) नेपालका उम्मेदवार परमेश्वर साह पनि उत्साहका साथ मैदानमा छन् । जसपा नेपाल र लोसपा नेपालबीच एकीकरण भएपछि जनकपुरधाम नगर क्षेत्रमा साहले राम्रो समर्थन पाउने बताइन्छ । उनी विगतमा प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए । मधेश आन्दोलनको क्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेका साहप्रति मतदाताको सहानुभूति रहने युवा नेता रामविनोद चौधरीले बताएका छन् ।

‘मधेश आन्दोलन हाँकेका साहप्रति मधेश अधिकारवादीहरुको समर्थन रहेको छ’ उनले भने, मधेशीलाई अधिकार दिलाउन उनी निरन्तर लागेका छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा कांग्रेसका उम्मेदवार पूर्वमन्त्री महेन्द्र यादव र एमालेका उम्मेदवार पूर्वमन्त्री रघुबीर महासेठबीचको प्रतिस्र्धामा रास्वपाका राजकिशोर महतो घण्टी लिएर इन्ट्री गरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतको मधेशप्रतिको अभिव्यक्तिले निवर्तमान सांसद समेत रहेका महासेठलाई क्षति गर्ने बताइन्छ । क्षेत्र नम्बर ४ मा महासेठ र ३ मा उनकी पत्नी जुली कुमारी महतो उम्मेदवार रहेकाले विपक्षी दलका उम्मेदवारहरु त्यस मुद्दामा घेर्ने प्रयास गरिरहेका छन् ।

जेन– जी आन्दोलनपछि एमालेप्रतिको धारणा मतदाताहरुमा विगतको भन्दा फरक देखिएको छ । गत चुनावमा क्षेत्र नम्बर ४ मा झिनो मतान्तरले महासेठ निर्वाचित भएका थिए । १ सय २४ मतले महेन्द्र यादव पराजित भएका थिए । चुनावी मैदानमा पहिलो पटक प्रवेश गरेका महतोको घण्टी छापप्रति युवाहरुमा आकर्षण देखिएको छ ।

खासगरी बेंगाडाबर, तुलसी, ढल्केवर, बटेश्वरतर्फका एमालेहरु भारी संख्यामा रास्वपामा प्रवेश गरेका छन् । कांग्रेसको जनाधारमा कुनै कमी नआएको बताउँदै मधेश प्रदेश सांसद कुमरकान्त झाले गत चुनावको भन्दा यस पटक झन् सुदृढ भएको छ । ‘गत चुनावमा दल छाडेका नेताहरु पनि फर्किसकेका छन्’ उनले भने, कांग्रेसमा कयौँ चुनावपछि यस प्रकारको जोश जाँगर देखिएको छ ।

Comment


Related News

Latest News

Trending News