नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाइ लक्षित गर्दै केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने भएको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनका लागि केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिनुभएको हो । उहाले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने स्पष्ट पार्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताउनुभयो ।
लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उहाले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने धारणा राख्नुभयो । प्रवक्ता चालिसेले निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने जानकारी दिनुभयो ।
घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राख्ने उहाको भनाइ छ । हाल घोषणापत्र निर्माणका क्रममा पार्टीले देशभरका जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै चालिसेले स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने उल्लेख गर्नुभयो ।
पार्टीले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत सार्वजनिक गर्ने तयारी गरेको उहाको भनाइ छ । प्रवक्ता चालिसेले कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएकाले नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्ने बताउनुभयो ।


