२०८२ माघ १८, आईतवार ०७:४२

भाारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोपलाई लिएर मानिसहरुमा त्रास उत्पन्नको बेला नेपालमा पनि शंकास्पद घटना हुन थालेपछि सरकारले सतर्कता अपनाएको छ ।

निपाह भाइरस फैलिने भएपछि यसको परीक्षण गर्न निर्देशिका जारी गरी परीक्षण कार्यलाई अघि बढाउन सरकारले निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित निकायहरुलाई निपाह भाइरस रोकथामका लागि निर्देशन दिएको छ । नयाँ प्रोटोकल अनुसार सम्भावित निपाह भाइरसका कारण मृत्यु हुने, गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण, तीव्र मस्तिष्क ज्वरो, कोमा, निपाह भाइरस लागेका बिरामीसंग सम्पर्कलगायत पर्छन् ।

निपाह भाइरस प्रभावित क्षेत्रबाट फर्किएका, काँचो खजुरको रस पिउने, संक्रमित जनावर (विशेषगरी चमेरो) संग सम्पर्कमा आएका मानिसहरुलाई शंकाको घेरामा राखिएको छ । महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले भने, ‘ इन्फ्लुएन्जाजस्तै लक्षण देखिएका मानिसहरु, विशेषगरी भारतको पश्चिम बंगालबाट फर्केकासहित दर्जनौं व्यक्तिले परीक्षणका लागि हामीलाई सम्पर्क गरिरहेका छन्,’ उनले भने, ‘तर डराउनुपर्दैन ।

किनकि भारतीय स्वास्थ्य प्राधिकरण र विश्व स्वास्थ्य सङ्गठनले प्रकोप सफलतापूर्वक नियन्त्रणमा लिइएको जानकारी दिएको छ, र पश्चिम बंगालसँग सिमाना जोडिए पनि नेपालमा सङ्क्रमण फैलिने जोखिम उच्च छैन ।’ निपाह जनावरबाट मानिसमा सर्ने भाइरस हो । निपाह एक जुनोटिक भाइरस हो । तर २०१९ मा विश्वव्यापी महामारी उत्पन्न गराउने कोरोना भाइरसभन्दा निपाह भाइरस निकै प्राण घातक हो । भारतमा यस महिना पश्चिम बंगालमा निपाह भाइरस सङ्क्रमणका दुई जनामा पुष्टि भएको छ ।

दुबैजना संक्रमित स्वास्थ्यकर्मी हुन् । उनीहरुमा गत वर्ष डिसेम्बरको अन्तिम साता लक्षणहरू देखिएका थिए । सामान्यतया सङ्क्रमित जनावरसंग प्रत्यक्ष सम्पर्क वा त्यसको मासु खाँदा संक्रमण हुन्छ । त्यस्तै भारतसहित धेरै ठाउँमा मानिसबाट मानिसमा सङ्क्रमण फैलिएको तथ्यहरु फेला परेको छ । चिकित्सकहरुका अनुसार निपाह भाइरसको मुख्य वाहक चमेरो नेपालमा पनि पाइने भएकाले यहाँ प्रकोपको जोखिम रहेको छ । भने भारतको पश्चिम बंगाल र नेपालको कोशी प्रदेशको सीमा जोडिएको छ ।

सीमानाका जोडिएको हुँदा दैनिक सयौं व्यक्ति आवतजातव गर्ने गर्छन् । शंकास्पद निपाह भाइरसका बिरामीलाई विगतमा कोरोना उपचार केन्द्रका रुपमा तोकिएका अस्पतालहरुमा नै भर्ना र उपचार गर्न स्वास्थ्य अधिकारीहरुले निर्देशन दिएका छन् । यस्तै अन्य व्यक्तिसंग सम्पर्कमा नरहन पनि आग्रह गरिएको छ ।

अर्का एक जनस्वास्थ्य अधिकारीले भने, ‘ हामी उपचार निर्देशिका पनि तयार गरिरहेका छौं ।’ केही समय अघि मात्रै रोग नियन्त्रण महाशाखाले निपाह जस्तै लक्षण देखिएका बिरामी र एक्कासी मृत्यु भएका शंकास्पद घटनाबारे रिपोर्ट उपलब्ध गराउन देशभरका अस्पताललाई निर्देशन जारी गरेको थियो । पछिल्लो समय निपाह संक्रमण फैलिएका विरामीहरु आउन सक्ने सम्भावनाबारे सीमानाकाहरू र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्वास्थ्य डेस्कहरूलाई सचेत गराइएको छ ।

त्यस्तै स्वास्थ्यकर्मीहरूलाई सतर्क रहन भनिएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार निपाह भाइरस सङ्क्रमित व्यक्तिमा सामान्यतया ३ देखि १४ दिनभित्र लक्षणहरू देखिन्छन् । ज्वरो, टाउको दुखाइ, खोकी, घाँटी दुख्ने, र श्वासप्रश्वासमा कठिनाइ यसका प्रमुख लक्षण छन् । केही व्यक्तिमा मस्तिष्क सुन्निने वा मस्तिष्क ज्वरो हुन सक्छ । भ्रम, निद्रा लाग्ने र बेहोस हुनेजस्ता गम्भीर लक्षण पनि देखिन सक्छन् । केही बिरामी २४ देखि ४८ घण्टाभित्र कोमामा पुग्ने सम्भावना पनि हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनले जनाए अनुसार यस रोगको मृत्युदर ४० देखि ७० प्रतिशत हुने गरेको छ । निपाह भाइरस सन् १९९९ मा पहिलोपटक मलेसिया र सिंगापुरमा फेला परेको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाए अनुसार त्यतिबेला करिब ३०० जनामा रोग पुष्टि भएको थियो भने १०० भन्दा बढीको मृत्यु भएको थियो ।

भारतको पश्चिम बंगालमा सन् २००१ मा निपाह भाइरसको सबैभन्दा घातक प्रकोप फैलिएको थियो । जसमा ६६ सङ्क्रमित भए र ४५ को मृत्यु भएको थियो । सन् २००७ मा फेरि निपाह भाइरस देखा परेको थियो । त्यसपटक भने ५ जना मध्ये सबै संक्रमितको मृत्यु भएको थियो । सन् २०१८ मा भारतको केरलामा निपाह भाइरसले १७ जनाको मृत्यु भएको थियो ।

विशेषज्ञहरूले निपाह भाइरसलाई गम्भीरतापूर्वक लिइनुपर्ने बताएका छन् । यस निपाह भाइरसले हुने मृत्युदर ७० प्रतिशतसम्म रहेको जनाइएको छ । निपाह भाइरसका कतिपय लक्षणहरु अन्य सामान्य भइरसहरुसंग मिल्दोजुल्दो छ । यसकारणले पनि मानिसहरु भ्रममा पर्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् ।

अहिलेसम्म पनि निपाह भाइरसको कुनै उपचार पत्ता लाग्न सकेको छैन । एक नेपाली विशेषज्ञका अनुसार निपाह भाइरस चमेरोमार्फत नेपालमा फैलिन सक्ने भन्दै चिन्ता व्यक्त गरे । उनले पछिल्लो खतराको घन्टी हालै मात्र बजेको बताए । भारतको कोलकाता नजिकैको अस्पतालका स्वास्थ्यकर्मी नै निपाह भाइरस संक्रमित भएर सिकिस्त भएपछि उनीहरूलाई आइसियूमा राखेर उपचार थालिएको छ । त्यहाँका अधिकारीहरूले उनीहरूको सम्पर्कमा आएका करिब २ सय जनाको परीक्षण गरेर निगरानीमा राखेका छन् ।

Comment


Related News

Latest News

Trending News