२०८२ माघ १८, आईतवार ०७:४९

जनकपुरधाम उपमहानगरपालिकाको मुख्य सडक तथा बजार क्षेत्रमा बढेको फुटपाथ अतिक्रमण विरुद्ध पत्रकार ध्रुब झाको पहलमा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।

सर्वसाधारणलाई आवागमनमा समस्या भइरहेकाले अव्यवस्थित व्यापार र अतिक्रमण हटाउन दबाब दिने उद्देश्यले उनले सो अभियान सुरु गरेका हुन । धनुषा ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा नेपालका परमेश्वर साह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालका मनिष झासहितको उपस्थितिमा सुरु गरिएको अभियानमा स्थानीय नागरिक, व्यापारी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै उम्मेदवारद्वयले जनकपुरधामलाई व्यवस्थित, सुन्दर र नागरिकमैत्री शहर बनाउन फुटपाथ अतिक्रमण नियन्त्रण अनिवार्य रहेको धारणा राखे । ‘सडक र फुटपाथ आम नागरिकको साझा सम्पत्ति हुन् । तिनको दुरुपयोग रोक्न स्थानीय सरकार, प्रहरी र नागरिक सबैको सहकार्य आवश्यक छ,’ झाले भने ।

साहले निर्वाचित भएमा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै फुटपाथ अतिक्रमणमुक्त अभियानलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । अभियानका संयोजक पत्रकार ध्रुब झाले गत डेढ वर्षदेखि निरन्तर रूपमा फुटपाथ अतिक्रमण विरुद्ध आवाज उठाउँदै आएको तर उपमहानगरपालिकाले चासो नलिएपछि अभियान नै अघि बढाएको बताए ।

उनले भने ‘जनकपुरधामका फुटपाथ मेरो व्यक्तिगत सम्पति होइन, यो यहीँका आम नागरिकको साझा सम्पति हो । पैदल यात्री सुरक्षित रूपमा हिँड्न नपाउने अवस्था गम्भीर समस्या हो । यो सौन्दर्यको विषय नभई नागरिक अधिकारको विषय छ र यसमा सबैले सहयोग गर्नु आवश्यक छ ।’ उनले प्रशासनको उदासीनताका कारण समस्या झन् जटिल बन्दै गएको भन्दै अब नागरिक दबाबमार्फत समाधान खोज्ने अभियान सुरु गरिएको बताए । हस्ताक्षर संकलनपछि सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइने योजना रहेको उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News