नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज जापानतर्फ प्रस्थान गर्दै छन्।
जापान सरकारको निमन्त्रणामा हुन लागेको यो औपचारिक भ्रमणले दुई देशबीचको दशकौँ लामो सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ।
राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट राति ११:३० बजे टोकियो प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणको मुख्य कार्यक्रम माघ १९ गते आयोजना हुनेछ, जहाँ राष्ट्रपति पौडेलले नेपाल–जापान सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजित विशेष स्वागत समारोहमा सहभागिता जनाउनेछन् । यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राष्ट्रपतिको राजकीय शिष्टाचार भेट हुने तय भएको छ। सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता हुने तालिका रहेको छ।
जापान भ्रमणका क्रममा राष्ट्रपतिले त्यहाँका विदेश राज्यमन्त्री होरिइ इवाओसँग भेटवार्ता गर्नुका साथै जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ।
टोकियोस्थित नेपाली राजदूतावासले राष्ट्रपतिको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि उनी सहभागी हुने छन् । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल र अन्य उच्च सरकारी अधिकारीहरू सहभागी छन्। राष्ट्रपति पौडेल आगामी माघ २१ गते अपराह्न ४:३० बजे स्वदेश फर्कने छन्।


