फागुन २१ गते हुने आसन्न प्रतिनिधि सभा सदस्यहरुको निर्वाचनका लागि उम्मेदवारहरु भ्याई नभ्याई भइरहेको छ भने मतदाताहरुलाई कुनै चासो नरहेको देखिएको छ । उम्मेदवारहरु दिनरात वडा भेला र कार्याकर्ता भेलासँगै मतदाताको घरदैलोसम्म पुग्ने गरेका छन् । तर मतदाताहरुलाई निर्वाचन कहिले छ र कुन दलबाट को को उम्मेदवार छन् बारे थाहासम्म छैन ।
उनीहरु विगतमा चुनाव जितेर गएकाहरूले जनताका आधारभूत समस्या सम्बोधन गर्ने खालका कुनै काम गर्न नसकेका कारण आफूहरू चुनावप्रति चासो नदेखाएको बताउंछन् । धनुषाधाम नगरपालिको गोविन्दपुर गाउँका लक्ष्मिनियादेवी महराले चुनाव कहिले हो र उम्मेदवारहरु को को हुन बारे थाहा नभएको बताउंछिन् । उनले भनिन् चुनाव हुन्छ भन्ने बारे सुनेछु, तर कहिले हुने को को उम्मेदवार छन् बारे थाहा छै्न् ।
आफ्नो कामबाट आफूलाई फुर्सतै छैन भने चुनाव बारे के सोच्नु ? गोविन्दपुरकै अरुण महराले पनि चुनाव हुन्छ भन्ने सुनेछु, नेताहरु यताउता गाडी कुदाई रहेको देखिरहेछु तर कहिले निर्वाचन हुने बारे थाहा छैन । कुनै उम्मेदवार अहिलेसम्म घरमा मत माग्न आएको छैन बारे भने अहिलेसम्म त आएको छैन । फेरी कसलाई मत दिनुहुन्छ बारे अरुणले भने आफूले सोचेको छैन ।
चुनावको एक हप्ता बांकी रहेपछि टोलवासी बसेर छलफल गर्नेछौं । धनुषाको सो क्षेत्रमा गोविन्द मात्र होइन सतोषर गाउँका बुढापाका र तल्लो तहका स्थानीयलाई निर्वाचन बारे चासो देखिएको छैन । हुनत सो क्षेत्रमा युवावर्गहरु दलीय रुपमा लागेका कारण चासो देखाएपनि विगतका निर्वाचन झै उत्साहित देखिएको छैन ।
सतोषर कुस्माहा टोलका सुर्यनाथ यादव भन्छन् ‘चुनाव फागुन २१ गते हुन्छ बारे सुनेछु, तर उम्मेदवार को को छन् खासै थाहा नभएपनि पुरानै उम्मेदवारहरु यस पटक निर्वाचनमा भाग लिएको सुन्दैछु । आउंदो निर्वाचनले निर्वाचित हुने जनप्रतिनिधिबाट के अपेक्षा छ भन्ने बारे उनले भने के अपेक्षा राख्ने विगत जस्तै उम्मेदवार जित्छन र जितेपछि फर्केर आउंदैन ।’ निर्वाचनमा आफ्नो उम्मेदवारी बारे कांग्रेसका उम्मेदवार रामपलटन साहले आफू भारी मतले विजयी हुनेमा ढुक्क छन् । उनी भन्छन् ‘अहिलेको कांग्रेस बदलिएको नयाँ जनादेशसहितको कांग्रेस हो, हामी नयाँ भिजन र योजनाका साथ सभापति गगन थापाको साथमा चुनावमा उत्रेका छौं र आउंदो निर्वाचनमा विजयी हुने निश्चित छ ।
जनताले कांग्रेसलाई नै किन मत दिन्छन बारे उनले भने ‘जेनजी आन्दोलनपछि देश नयाँ दिशातर्फ अघि बढेको छ । कांग्रेसपनि आफूलाई बदलेर देश बदल्ने बाटोमा हिंडेको छ, जनतालाई भ्रष्टाचारमुक्त सहितका सुशासन र विकासको गति तिव्र रुपमा अघि बढाउने सोचका साथ चुनावमा आएकाले जनताले हामीलाई मत दिन्छन भन्ने मतदाताहरु नै भनिरहेका छन् ।’
यस्तै नेकपाका मातृका यादवले भने हजारौ नेपालीको शहादतबाट देशमा संघीयता र गणतन्त्र आएको छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा २४ गतेको आन्दोलनको स्वरुप हेर्दा संघीयता र गणतन्त्र खतरामा रहेकाले आफूहरु त्यसलाई बचाउने एजेण्डाको साथ मतदाताको बीच गइरहेका छौं र मतदाता पनि सचेत रहेकाले नेकपालाई मत दिनेछन भन्नेमा आफू विश्वस्त छु ।’ धनुषा १ मा स्वतन्त्रबाट २९ र दलबाट १३ जना गरी ४२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
कांग्रेसबाट रामपलटन साह, एमालेबाट रामचन्द्र मण्डल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मातृका यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दिपक कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालबाट किशोरी साह कमल उम्मेदवार छन् ।


