२०८२ माघ २१, बुधबार १७:४८

प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताउनुभएको छ ।

आज सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रूपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने उल्लेख गर्नुभयाे । नागरिकले प्रिमियर तिर्ने तर सरकारले उनीहरूका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई नियमन गर्न जरुरी छ । नागरिकले पैसा पनि तिरिरहेका छन्, उपचार पनि पाइराखेका छैनन् । अर्थमन्त्रीसँग छलफल गरेर यसलाई सुधार्नेछाैँ । जसरी पनि यो समस्या समाधान गर्नेतिर जान्छौँ । यसबारेमा नियम, कानून बनाउने कुरामा उहाँको तयारी नै छ । हामी सबै मिलेर यो समस्या समाधान गरौँ ।’

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी स्वास्थ्य मन्त्रालयले नीतिगत र कानूनी व्यवस्था तय गर्न लागेको पनि बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News