आगामी २०८२ फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले धनुषामा निर्वाचन सुरक्षा सम्बन्धी संयुक्त अभ्यास “अभ्यास – संयुक्त सुरक्षा” सम्पन्न भएको छ।
श्री विष्णुदल गण, महेन्द्रनगर ब्यारेकको पहल समन्वय तथा आयोजनामा आयोजित उक्त अभ्यासमा धनुषाका ४ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतहरु,जिल्ला प्रशासन कार्यालय, मधेस प्रदेश निर्वाचन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग सहित बहुपक्षीय सहभागिता रहेको थियो।

कार्यक्रममा श्री विष्णुदल गणका गणपती खिलेन्द्रराज आमगाईले निर्वाचनलाई आगामी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायबीच समन्वय, तयारी र संयुक्त प्रतिक्रिया क्षमताको विकास गर्न यो अभ्यास अपरिहार्य रहेको बताए । उनले सुरक्षा निकायहरूले आगामी निर्वाचनमा उक्त अभ्यासबाट प्राप्त ज्ञान तथा सीपहरू व्यवहारमा लागू गरी सम्पूर्ण जनता, मतदाता, उम्मेद्वार, मतदान स्थल, निर्वाचन कर्मचारी, निर्वाचन सामग्री र समग्र निर्वाचनको सुरक्षा सुनिश्चित गर्ने र संयुक्त सुरक्षा अभ्यासले धनुषा जिल्लामा हुने निर्वाचनलाई अझ सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने विश्वास समेत व्यक्त गरे ।
उनले निर्वाचन सुरक्षामा देखिन सक्ने कमजोरी र सुधारका क्षेत्रहरू पहिचान गर्न समेत अभ्यास सहयोगी भएको बताउनुहुदै यस्तो संयुक्त अभ्यासले सुरक्षा निकायबीच स्पष्ट भूमिका, जिम्मेवारी र अपेक्षाबारे साझा बुझाइ विकास भई आगामी निर्वाचनलाई अझ सुरक्षित, व्यवस्थित र विश्वसनीय रूपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए ।

कार्यक्रमको पहिलो चरणमा प्रस्तुतिकरण तथा अन्तरक्रिया सत्र सञ्चालन गरिएको थियो। सो क्रममा राष्ट्रिय अनुसन्धान विभागले धनुषा जिल्लाको सामाजिक राजनीतिक अवस्था, निर्वाचन अवधिमा देखिन सक्ने सम्भावित जोखिम, अफवाह, गलत सूचना तथा संगठित हस्तक्षेपको खतरा मूल्याङ्कन प्रस्तुत गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता, मतदान स्थलको सुरक्षा, मतपेटिका तथा निर्वाचन सामग्रीको सुरक्षा र ढुवानी प्रक्रियाबारे जानकारी गराएका थिए भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले हुल नियन्त्रण, बुथ कब्जा नियन्त्रण, Graduated Response, Command & Control प्रणाली तथा आफ्ना अपेक्षा र समन्वयगत चुनौतीहरूबारे प्रस्तुति दिएका थिए । साथै नेपाली सेनाले निर्वाचनमा सेनाको परिचालन अवधारणा र अन्य सुरक्षा निकायसँगको समन्वयात्मक ढाँचाबारे जानकारी गराएको थियो।

कार्यक्रमको दोस्रो चरणमा अपरेशनल अभ्यास सञ्चालन गरिएको थियो। Mock Polling, बुथ सुरक्षा अभ्यास, चोक तथा भिडभाड क्षेत्रबाट प्रवेश अभ्यास,Media Crowd Pressure Simulation, Riot Control, QRT परिचालन, Mixed Team Operation, मतपेटिका ढुवानी तथा Ballot Box Evacuation जस्ता अभ्यासहरू गरिएको थियो।
उक्त अभ्यासमा नेपाल प्रहरी Inner Perimeter सशस्त्र प्रहरी बल Central Security Ring र नेपाली सेना Peripheral Area Security को भूमिकामा तैनाथ भई संयुक्त रूपमा प्रतिक्रिया जनाइएको थियो। बुथ कब्जा प्रयास, आगजनी, तोडफोड, विभिन्न समूहबीचको झडप तथा IED/Hoax सूचना जस्ता सम्भावित निर्वाचन सुरक्षा चुनौतीहरूमा समन्वित र समयबद्ध प्रतिक्रिया अभ्यास गरिएको थियो।
समापन मन्तव्यमा प्रमुख जिल्ला अधिकारीज्यूद्वारा उक्त अभ्यासबाट सुरक्षा निकायहरूबीच भूमिका र जिम्मेवारी स्पष्ट हुनुका साथै एकीकृत कमाण्ड प्रणालीमा आधारित शीघ्र र प्रभावकारी प्रतिक्रिया क्षमता अभिवृद्धि भएको विश्वास व्यक्त गर्नुका साथै जिल्ला स्तरको एकीकृत निर्वाचन सुरक्षा संरचना, कमाण्ड र निर्णय प्रणाली तथा कानुनी नीतिगत पक्षबारे स्पष्ट पार्नुभएका थियो ।
एकदिने उक्त अभ्यासबाट सुरक्षा निकायहरूको व्यावसायिक दक्षता, समन्वय क्षमता र आकस्मिक परिस्थितिमा शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि भएको आयोजक पक्षले जनाएको छ। नेपाली सेनाको अग्रसरतामा सम्पन्न यस प्रकारका संयुक्त अभ्यासले सुरक्षा निकायहरुविच समन्वय को साथै संयुक्त परिचालनको क्षमता अभिवृद्बि भई समग्र राष्ट्रिय सुरक्षामा थप टेवा पुग्ने विस्वास गरीएको छ ।


