मधेश प्रदेश सभाको आठौँ वार्षिकोत्सव एक समारोहबीच भव्य रूपमा सम्पन्न भएको छ । प्रदेश सभामा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले हरेक भेषभूषा, भाषा र संस्कृतिको सम्मान नै संघीयता र लोकतन्त्रको असल पहिचान रहेको बताए ।
प्रदेश प्रमुख डा. कर्णले मधेश प्रदेशमा ढाका टोपीदेखि मिथिलाको पहिचान पाग र पगडी, भाषातर्फ बज्जिकादेखि मैथिली, भोजपुरी र नेपाली, पहिरनमा धोती कुर्था तथा दाउरा सुरवालसहित कोट–पैन्टसम्मको सम्मान दिनु नै असल लोकतन्त्र र संघीयता रहेको बताए । उनले भने, ‘कुनै समयमा एउटै भाषा र एउटै भेषभूसा लादिएको थियो । तर नेपाली जनताले त्यसलाई फालिसकेको छ ।
आज मधेश प्रदेश सभामा सबै भाषा र भेषभूसालाई सम्मान सहित मिथिला संस्कृति गरिएको स्वागत नै सही लोकतन्त्र र संघीयता रहेको छ ।’ उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले रास्वपाको कडा आलोचना गरेका छन् । रास्वपा एजेण्डाविहीन पार्टी भएको बताउँदै मुख्यमन्त्री यादवले कार्यकारी प्रमुखको उम्मेदवारलाई भावी प्रधानमन्त्रीको नाममा अल्लारे तालले हावादारी गफ दिएर जनतालाई झुक्याउनु बाहेक केही नभएको प्रस्ट्याए ।
रास्वपाप्रति इंगित गर्दै मुख्यमन्त्री यादवलेभने, ‘भोट किन दिने, त्यसको एजेण्डा के हो भन्ने बारे केही अतोपतो छैन, परिवर्तनको नाममा मतदाताको आँखामा धुलो छर्किने काम गरिरहेको छन् । त्यसबाट बच्न जरुरी छ ।’ मुख्यमन्त्री यादवले भदौ २३ गते भएको जेन– जी आन्दोलनलाई हाइज्याक गरी परिवर्तनका नारा दिइरहेको रास्वपामाथि आरोपसमेत लगाए । उनले जसको विधानमै संघीयता भन्ने शब्द नै छैन, अहिले ती संघीयता विरोधि पार्टीले मधेश प्रदेशमा मधेशीको नाम भजाएर जनताको भावनासंग खेल्न प्रयास गरिरहेका बताए ।
त्यस्ता संघीयता विरोधि पार्टीको लहलहैमा नलागी सचेत हुन जरुरी रहेकोमा उनले जोड दिए । त्यस्तै वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले मन्त्रालय मन्त्री–कर्मचारीमैत्री नहुदाँ विकास निर्माणलगायतका कामहरु अघि बढ्न नसकेको बताए । उनले कर्मचारीहरुले अहिले समन्वय नगरेमा प्रदेशको विकास र जनताको समस्याहरु झनै बल्झिने भएकाले अहिलेदेखि नै विकास निर्माणको कामलाई अघि बढाउन आग्रह गरे ।
सो कार्यक्रममा मिथिला कला, परम्परागत रंग–रोगन, लोक–संस्कृतिको झल्को दिने सजावट तथा स्थानीय पहिरनमा सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो । मञ्च निर्माणदेखि सम्पूर्ण व्यवस्थापनसम्म मिथिला–मधेशको ऐतिहासिक, सांस्कृतिक र सामाजिक पहिचानलाई प्राथमिकतामा राखिएको देखिएको थियो ।
यस कार्यक्रममा प्रदेश सांसद रामसरोज यादवलाई उत्कृष्ट सांसदको रुपमा सम्मान गरिएको छ । भने सो अवसरमा विभिन्न विधामा भएको प्रतियोगिताका विजेता कर्मचारीहरुलाई समेत प्रदेश प्रमुख डा. कर्णले सम्मान गरेका थिए । यस वार्षिकोत्सव कार्यक्रममा प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, पूर्व सांसद, कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो भने प्रदेश सभाको स्थापना पछिका आठ वर्षको उपलब्धि, चुनौती र भावी कार्यदिशाबारे चर्चा गरिएको थियो ।


