आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरु लागिपरेका छन् । उनीहरुले मतदातालाई विभिन्न खाले सपनाहरु पनि बाँडिरहेका छन् ।
कोही भावी प्रधानमन्त्रीको रुपमा मतदातालाई रिझाउने गरेका छन् । भने केही उम्मेदवारले सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालका विभिन्न माध्यमबाट मतदातालाई दिग्भ्रमितसमेत पार्ने काम भइरहेको छ । तर अर्कोतर्फ मतदाताका लागि आधार भूत पर्ने गास, बास, कपाससहितका खाद्यान्न सामग्रीहरुको मूल्य आकाशिदैँ गएको छ ।
जतिजति निर्वाचन नजिकिदैँ जाँदा खाद्यान्न सामग्रीहरुको मूल्यको भाउ बढिरहदाँ पनि उम्मेदवारहरुले भने यसतर्फ ध्यान नदिएको गुनासो मतदाताले गर्न थालेका छन् । खाद्यान्न व्यापारीहरु चुनावको मौका छापेर नुन, खानेतेल, चामल, दाललगायतका उपभोग्य वस्तुको भाउ एक्कासी बढाउन थालेका छन् । उनीहरुले चुनावको मिति नजिकिएसंगै दाल, चामल, तेललगायत उपभोग्य वस्तुको मूल्य धमाधम बढाउन थालेको भन्दै एक सेवाग्राहीले गुनासो गरे ।
आपूर्तिमा कुनै गडबडी नभए पनि व्यापारीहरुले चामलको मूल्य दुई सातामै बोरामा दुई सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म बढाएका छन् । व्यापारीले कतरनी चामल २५ किलोग्राम बोराको २ हजार २ सय रुपैयाँभन्दा धेरै लिन थालेका छन् । चामलको भाउ ब्राण्ड अनुसार फरक पर्छ । त्यस्तै तेलको भाउ पनि एक महिनामा कार्टुनको ३ सय रुपैयाँसम्म वृद्धि भएको बताइन्छ ।
सूर्यमुखी तेलको उपभोक्ता मूल्य प्रतिकार्टुन २६ सय रुपैयाँ पुगेको छ । माघ लागेपछि आयातकर्ता र उद्योगबाटै तेल र चामलको भाउ बढेर आएको स्थानीय व्यापारीहरु बताउँछन् । साल्ट ट्रेडिंग कार्पोरेसनका बजार प्रबन्धक प्रज्वल प्रधानले अहिले हरेक दिन खाद्यान्नको भाउ बढिरहेको जानाकरी दिए । उनले चामल र तेलको भाउ सबैभन्दा धेरै बढिरहेको बताए ।
सूर्यमुखी तेल एक महिनाअघि प्रति लिटर २५० रुपैयाँ किनेका उपभोक्ताले अहिले २८० रुपैयाँसम्म तिनुपरिरहेको छ । प्रति लिटर भटमास तेल २७० र तोरीको तेल ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । प्रधानले भने, ‘रहर र मासको दालको मूल्य पनि केजीमा २० रुपैयाँसम्म बढेको छ ।’ नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले पनि चामलको भाउ बोरामा ५०० रुपैयाँ र तेलको मूल्य प्रति लिटर ५० रुपैयाँसम्म बढेको जनाए । ‘आयातकर्ता र उद्योगीले नै केही खाद्यान्नको भाउ बढाएका छन् । उत्पादक र आयातकर्ताले नबढाएको अवस्थामा हामी खुद्रा व्यापारीले बढाउन सक्दैनौँ, उनले भने, समय अनुसार मूल्यवृद्धि हुनु स्वाभाविक हो । तर अहिले बजारमा खाद्यान्न स्टक हुँदाहुँदै भाउ दिनदिनै बढिरहेको छ, जुन अस्वाभिक हो ।’ आयातकर्ता र उद्योगीले भाउ एकाएक किन बढाए भन्नेबारेमा खुद्रा व्यापारीसंग जवाफ छैन । तैपनि उनीहरुले चुनावका कारण भाउ बढाइएको भन्ने आशंका गर्न थालेका छन् ।
यसअघि पनि चुनावका बेला खाद्यान्नको भाउ बढाउने गरिएको थियो । तर यसपालि पनि अचानक मूल्य बढेकाले चुनाव नै कारण त होला नि, स्थानीय अखिलेश कर्णले भने, हाल बजारमा सामानको अभाव छैन । ठूला व्यवसायीले चुनावका लागि चन्दा दिन खाद्यान्नको भाउ बढाएको हुनसक्ने जनकपुरधाम वडा नम्बर ७ का व्यवसायी राकेश साहले बताए ।
चुनाव नजिकिएसंगै नेपाल–भारत सीमावर्ती क्षेत्र अवस्थित सुरक्षाकर्मीको गस्ती पनि बढेको छ । सीमानाकाबाट तस्करी गर्नेहरुलाई खाद्यान्न सामग्री ओसारपोसारमा कठिनाइ भएसंगै उक्त सामग्रीहरुको भाउ पनि बढाइएको छ । एक व्यापारीले नाम नबताउने सर्तमा भने, ‘सीमानाकामा प्रहरीको बाक्लो उपस्थिति हुन थालेपछि अहिले पायापारबाट खाद्यान्नलगायतका सामग्रीहरु ल्याउन कठिनाइ भइरहेको छ, दुबैतर्फका सीमानाकामा मिलाउनुपर्ने भएकाले सामग्रीहरुको मूल्य पनि आकाशिएको छ, त्यसैले हामीले पनि पाँच रुपैयाँसम्म महँगो गरी बेच्नुपर्ने बाध्यता छ ।’ ‘अहिले विस्तारै विस्तारै गस्तीहरु पनि बढ्न थालेपछि सीमानाकाहरु पनि बन्द हुन्छ, त्यसपछि त यतातिर झनै सामग्रीहरुको पनि झनै समस्या उत्पन्न हुन्छ, त्यही भएर अहिलेदेखि नै हरेक सामग्रीहरुको भाउ बढेको छ’, उनले भने ।
जनताको जनजीविकाको सवालमा भने उम्मेदवारहरु मौन देखिएका छन् । विकास निर्माणका कुराहरु गरेर नथाक्ने नेता उम्मेदवारहरुले मतदाताका दैनिकी जीवनयापनबारेमा नसोचिदिँदा र नबोलिदिँदा अहिले पनि मतदाता निर्वाचनप्रति खासै आकर्षित हुन सकेको छैन । उनीहरु अझै पनि दैनिकी जीवनयापन टार्नकै लागि विभिन्न सानादेखि ठूलासम्मका काम गरेर गुजारा टार्ने गरेका छन् ।
गाईवस्तुदेखि खेतीपातीमै व्यस्त रहने कृषक तथा किसानहरु अझै पनि चुनावभन्दा मलखाद र खाद्यान्न सामग्रीहरु कसरी जुटाउनेमै चिन्तित छन् । जनकपुरधाम– १२ स्थित कुवारामपुरका सुजीत पाठकले निर्वाचन हुने निश्चित भएपछि खाद्यान्न सामग्रीहरुको मूल्य भाउ बढ्नु अस्वाभिक नभए पनि दिनहुँ खाद्यान्न सामग्री जीवनयापन टार्ने हामीजस्ता निमुखाका लागि पनि उम्मेदवारहरुले आवाज उठाइदिनुपर्ने बताए ।
त्यस्तै जनकपुरधाम– ४ का ललन साहले जनजीविकोपार्जनका लागि नेता उम्मेदवार हरुले एजेण्डा बनाएर राहत उपलब्ध गराउनुपर्ने माग गरे ।


