२०८२ माघ २३, शुक्रबार ०९:३४

भारतको मेघालयस्थित एउटा कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिका निवासी एउटै घरका दुई जना दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। मेघालयस्थित उम्साङघाटमा सञ्चालित कोइलाखानीमा बिहीबार भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ बराहपोखरीस्थित सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपांगी मगर र २४ वर्षीय सुरेन्द्र खपांगी मगरको घटनास्थलमै मृत्यु भएको हो।

सोही घटनामा बराहपोखरीस्थित भञ्ज्याङका बमबहादुर खपांगी मगर, कर्णबहादुर खपांगी मगर, नरबहादुर खपांगी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्।

मेघालय पुगेर कोइलाखानीमा काम गर्ने सात जनाको टोलीमध्ये बराहपोखरीस्थित वालम्पाका ताराबल मगरमात्र सकुशल रहेको जनाइएको छ । विस्फोटपछि ताराबलले नै फोनमार्फत घटनाका बारेमा जानकारी गराएका हुन्।

दुर्घटनाका घाइते चार जनाको अवस्था गम्भीर रहेको ताराबलले जानकारी दिए।

भरतीय सञ्चार माध्यमका अनुसार सो विष्फोटका घटनामा परेर ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जनाइएको छ।

मेघालयस्थित कोइलाखानीमा भएको घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ज्यान गुमाउनेको परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। घाइतेहरूलाई ५० हजारका दरले उपचार खर्च दिने पनि प्रधानमन्त्री मोदीले बताएका छन्।

Comment


Related News

Latest News

Trending News