मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गोबिन्द थपलियाले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन गर्दै निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
शुक्रबार अनुगमन एवम भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय पुगेका डिआइजी थपलियाले कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालसहित उपस्थित प्रहरी कर्मचारी तथा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरुलाई सम्बोधन गरेका थिए।
उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा योजना तयार गर्न निर्देशन दिएका थिए। जिल्लाभित्र हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रणनीति अपनाउन तथा सीमा नाकाहरूमा कडा जाँच व्यवस्था मिलाउन पनि उनले जोड दिएका थिए।
डिआइजी थपलियाले प्रहरी परिचालनलाई थप प्रभावकारी बनाउँदै सुरक्षा जाँचलाई कडाइका साथ लागू गर्न र उच्चस्तरीय प्रहरी आचरण प्रदर्शन गर्न निर्देशन दिएका छन्। “नेपाल प्रहरीको प्रतिष्ठा जोगाउने गरी अनुशासित र जिम्मेवार ढंगले काम गर्नुपर्ने आवश्यकता रहेको छ,” उनले बताएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार अनुगमनका क्रममा डिआइजी थपलियाले आपराधिक क्रियाकलाप, तस्करी नियन्त्रणमा विशेष ध्यान दिन तथा प्रहरी आचरणविरुद्ध कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिएका छन्।
कार्यक्रममा इलाका प्रहरी कार्यालय गरुडा, चन्द्रपुर, मौलापुर, विजयपुर लगायत जिल्लाभरिका युनिट प्रमुखहरूको सहभागिता रहेको थियो।


