धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सर रोगका विरुद्ध एचपिभी खोप लगाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाद्वारा आयोजित एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख उमेश यादवले निःशुल्क रुपमा दिइने सो खोप जनकपुरसहित धनुषामा १६ हजार ९६५ किशोरीलाई लगाउने लक्ष्य रहेको बताए । सो खोप कक्षा ६ मा अध्ययनरत छात्रा तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई लगाइने उल्लेख गर्दै उनले सो खोप शतप्रतिशत किशोरीलाई लगाइने बताए ।
नेपालमा बर्सेनि दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको उनीद्वारा प्रस्तुत विवरणमा उल्लेख छ । पटक–पटक भएर २० वर्षसम्म सङ् क्रमण रही रह्यो भने क्यान्सर रोग लाग्ने सम्भावना अत्यधिक रहेको छ । स्वास्थ्य कार्यालय धनुषाका अनुसार जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार मिति २०८२ माघ २५ गतेदेखि फागुन २ गतेसम्म तीन चरणमा एचपीभी खोप अभियान सञ्चालन गरिन लागेको हो ।
पहिलो चरणमा माघ २५ गतेदेखि २९ गतेसम्म लक्ष्मीनियाँ, गणेशमान, शहीदनगर, हंसपुर, विदेह, धनौजी, मिथिला बिहारी, जनकनन्दिनी, औरही र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका विद्यालयहरूमा खोप सञ्चालन हुनेछ । दोस्रो चरणमा माघ २६ गतेदेखि फागुन १ गतेसम्म मिथिला, सबैला, धनुषाधाम र जनकपुरधाम उपमहानगरपालिकामा अभियान संचालन गरिनेछ भने तेस्रो चरणमा माघ २७ गतेदेखि फागुन २ गतेसम्म कमला, बटेश्वर, नगराइन र क्षिरेश्वरनाथ नगरपालिकामा खोप दिइने जनाइएको छ ।
अभियान सफल बनाउन पालिका र वडा तहका स्वास्थ्यकर्मी, शिक्षक तथा सरोकारवालाहरूलाई समन्वय गर्न आग्रह गरिएको छ । स्वास्थ्य कार्यालयले खोप केन्द्रमा ब्भ्ँक्ष् (खोपपछिको प्रतिकूल असर) व्यवस्थापनका लागि आवश्यक सामग्री, एडलिनालिन तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।


