आईसीसी टी–२० विश्वकप अन्तर्गत आइतबार न्यूजिल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ । भारतको चेन्नईस्थित चिदमबरम रंगशालामा भएको खेलमा भएको खेलमा न्यूजिल्याण्ड ५ विकेटले विजयी भएको हो ।
अफगानिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य न्यूजिल्याण्डले १३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । न्यूजिल्याण्डका लागि विकेटकिपर ब्याटर टिम सेइफेर्टले सर्वाधिक ६५ रन बनाए । ४२ बलको सामना गरेका उनले ७ चौका र तीन छक्का प्रहार गरे ।
त्यसैगरी, ग्लेन फिलिप्सले २५ बलमा ४२ रन जोडे । यस क्रममा उनले सात चौका र एक छक्का प्रहार गरे । अफगानिस्तानका मुजिब उर रहमानले दुई विकेट लिए भने मोहम्मद नबी, रशिद खान र अज्मतुल्लाह ओमरजाइले समान एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन जोडेको थियो ।
अफगानिस्तानका लागि गुलबदिन नाइबले सर्वाधिक ६३ रन बनाए । ३५ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । त्यसैगरी, सेदिकुल्लाह अटलले २४ बलमा २९ र रहमतुल्लाह गुर्बजले २२ बलमा २७ रन जोडे ।
बलिङतर्फ न्यूजिल्याण्डका लोकी फर्गुसनले दुई विकेट लिए भने म्याट हेनरी, ज्याकब डफी र रचिन रवीन्द्रले समान एक विकेट लिए ।


