२०८२ माघ २६, सोमबार ०७:५०

भवन निर्माणमा अनियमितताको आरोप लागेका नेकपा एमालेका नेतासमेत रहेका निलम्बित मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध लागेको भ्रष्टाचार मुद्दा फुकुवा भएको छ ।

उनीसहितलाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । निलम्बित प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध सजाय माग दाबी गरिएको थियो । प्रदेश सांसद ठाकुर धनुषा ३(२) बाट निर्वाचित हुन् । मधेश प्रदेशसभामा ठाकुर एमाले संसदीय दलका उपनेता पनि हुन् ।

डि.एण्ड एन. बिल्डर्सप्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका ठाकुरले धनुषाको औरही गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माणका क्रममा हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । उनीविरुद्ध ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको थियो । तर सो अनुसारको हानी नोक्सानी भएको नदेखिएकोले कसुरदार नदेखिएको भन्दै ठाकुरसहित सबैमाथि लागिएको मुद्दा फुकुवा गरिएको छ ।

विशेष अदालतको संयुक्त इजलासबाट न्यायाधीशद्वय सुदर्शन देवभट्ट र हेमन्त रावलले ठाकुरसहित १७ जनामाथि अख्तियारले लगाएको मुद्दामा सफाइ दिएका छन् । उनीसहित गाउँपालिका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडा नम्बर १ का अध्यक्ष आशेश्वर यादव, वडा २ का अध्यक्ष अमितकुमार यादव, वडा ३ का अध्यक्ष गंगाप्रसाद यादव, वडा ४ का अध्यक्ष शिवनाथ साह, वडा ५ का परमेश्चरकुमार साह, वडा ६ का अध्यक्ष दिलीकुमार साह, पालिकाका तत्कालीन इन्जिनियर सोनु साह, सवइञ्जिनियर विनितकुमार साह, खरिदार मोहनकुमार मण्डल र मनोजकुमार यादव, लुम्बिनी/डि एन्ड एन जेभीका तत्कालीन प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्माविरुद्ध जनही ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । उनीसहित सम्पूर्णलाई विशेष अदालतले सफाइ दिएको छ ।

यसअघि निलम्बित प्रदेश सांसद ठाकुरलाई मधेश प्रदेशसभाबाट उत्कृष्ट सांसदको सम्मानसहित पुरस्कार पाएका थिए ।

Comment


Related News

Latest News

Trending News