२०८२ माघ २६, सोमबार १२:३२

हुलाकी राजमार्गअन्तर्गत औरही गाउँपालिका-५ स्थित सहजा खोलामा फेरि कार दुर्घटना भएको छ । गए मध्यराति राजविराजबाट जनकपुरतर्फ जाँदै गरेको बागमती प्रदेश बी एबी ७८२१ नम्बरको कार खोलामा खस्दा चालकसहित तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालका अनुसार दुर्घटनामा धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलिया निवासी २२ वर्षीय चालक अभिषेककुमार राय, ३९ वर्षीया दिपिकाकुमारी उपाध्याय र २० वर्षीया प्रिति पट्टेल घाइते भएका हुन् ।

सिरहास्थित प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि उनीहरूलाई जनकपुरस्थित प्रादेशिक अस्पताल रिफर गरिएको छ । दुर्घटनाग्रस्त कार घटनास्थलमै छ ।

सहजा खोलामा १० वर्षअघि नै पुल निर्माण सुरू गरिए पनि ठेकेदार र सम्बन्धित सरकारी निकायको उदासिनताले काम अलपत्र छ । यसअघि पनि यहाँ पटक-पटक सवारी दुर्घटना भएको थियो ।

लगातारको बेवास्ता र पछिल्लो दुर्घटनापछि आक्रोशित स्थानीयले हुलाकी राजमार्ग अवरुद्ध गर्दै आन्दोलन थालेका छन् । प्रदर्शनकारीहरूले दोषी ठेकेदार र नियामक निकायमाथि तत्काल कारबाही गर्न, पुल निर्माणको समयसीमा तोक्न र पुल नबन्दासम्म दुर्घटना रोक्ने वैकल्पिक व्यवस्था गर्न माग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News