वीरगञ्जमा सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी र व्यापारीहरुबीच झडप भएको छ ।
महानगरपालिकाको मुख्य व्यापारिक क्षेत्र आदर्शनगरस्थित एक गोदाममा वीरगञ्ज भन्सार कार्यालय र सुरक्षाकर्मीहरुको संयुक्त टोलीले छापा मार्ने क्रममा झडप भएको हो । राजस्व छलीको आशंकामा गरिएको छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एकजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएको जनाइएको छ । सशस्त्र प्रहरी बलले प्रयोग गर्ने गाडिमा समेत तोडफोड भएको छ ।
सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगञ्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा संयुक्त टोली गोदाममा पुगेको थियो। खानतलासी सुरु गर्ने क्रममा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि अवस्था तनावग्रस्त बनेको थियो।
घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।



