२०८२ माघ २७, मंगलवार ०७:३७

वीरगञ्जमा भन्सार छली गरी लुकाइएका कपडा नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीमाथि हिंस्रक आक्रमण भएको छ । स्थानीय व्यापारीहरूको समूहले सशस्त्र प्रहरीलाई घेरा हानी कुटपिट गर्नुका साथै प्रहरीको भ्यानसमेत तोडफोड गरेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर–१० स्थित आदर्शनगरमा प्रमोद कुमार कानुले गैरकानुनी रूपमा भण्डारण गरी राखेको कपडामाथि छापा मार्न पुगेको भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीमाथि आक्रमण भएको छ । कपडा नियन्त्रण गरी प्रहरीको गाडीमा लोड गर्न थालेकै क्रममा आक्रोशित समूहले सशस्त्र प्रहरीमाथि हातपात गरेको पर्सा सशस्त्र प्रहरी प्रमुख एसपी मोहन क्षेत्रीले जानकारी दिए ।

वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगञ्जस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए । स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरीका दुईवटा सवारीसाधनमा पनि क्षति पुगेको छ । संयुक्त टोलीले भन्सार छली गरेर समान भित्र्याएको आशंकामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको थियो ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको सात लाख मूल्य बढीको कपडा बरामद भएको जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षत्रीले स्थानीय व्यापारी समूहको आक्रमणबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको बताए ।

‘भन्सार कार्यालय र सशस्त्र प्रहरीको टोलीमाथि स्थानीय व्यापारीले ढुंगामुडा हानेर अवरोध गर्न खोजेका थिए’, उनले भने, ‘स्थानीय व्यापारीले ढुंगा तथा लाठीको प्रयोग गरी सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी सशस्त्र प्रहरीका सहायक निरीक्षकको एउटा मोबाइल स्थानीय व्यापारीले खोसेर लगेका छन् ।’ गणपति क्षत्रीले सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी कार्य तीव्र पारिएको बताए ।

पछिल्लो समय पर्सामा राजस्व चुहावट तथा भन्सार छली भएको आशंकामा भन्सार तथा सशस्त्र प्रहरीले छापा मार्दा प्रहरीमाथि आक्रमण हुने गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले भन्सार तथा सशस्त्र प्रहरीले पूर्ण सूचनाका आधारमा छापा मारेको खण्डमा अहिले देखिएको समस्या हल गर्न सकिने बताए । उनले भने, ‘सरकारी निकायलाई कोहीबाट गोप्य सूचना आएपछि पूर्ण रुपमा सूचनालाई पुष्ट्याइँ गर्ने आधार भएपछि मात्रै छापा मार्दा अहिले प्रहरी प्रशासनमाथि हुने गरेको आक्रमण हुँदैनथ्यो,’ उनले अघि थप्दैँ भने, ‘व्यापारीहरुले पनि राज्यका निकायले अनुगमन तथा निरीक्षण गर्न आउँदा र छानबिन गर्न खोज्दा ढुंगामुढा गरेर आक्रमण पनि गर्नुहुँदैन ।

राज्यका संयन्त्रलाई कमजोर बनाउने प्रयास पनि गर्नु हुँदैन ।’ सशस्त्र प्रहरी बलले जनाए अनुसार गोदामका सञ्चालक मदनप्रसाद गुप्ताले अवैध रुपमा वीरगञ्जबाट पोखरा पठाउन लागेको ७१ लाख बराबरको हार्डवेयरको सामान बोकेको ट्रक सशस्त्र प्रहरीले आइतबार माघ २५ गते नियन्त्रणमा लिएको थियो ।

ना ३ ख ५०५२ नम्बरको ट्रकमा भिसिटिएस बिल बिनाको सामान सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जले वीरगञ्ज महानगरपालिका–१४ स्थित पिपराचोकबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि रातिनै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो । सोही आधारमा उनले सञ्चालन गरेको अवैध गोदाममा समेत भन्सार छलिको सामान रहेको सुचनाको आधारमा २६ गते बिहान छापा हानिएको छ । छापा मार्ने क्रममा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए ।

प्रहरीले १२ लाख ७२ हजार मूल्य बराबरको कुर्ता सुरुवाल बरामद गरी आबश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले बताए । ढुंगामुढाबाट बागमती प्रदेश एफ ए ए ०१२५ नम्बरको गाडीको अगाडिको सिसा फुटेको बताइएको छ । एपीएफको स्कार्पियोमा पनि क्षति पुगेको छ । स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरी वरिष्ठ सिपाही महमद मुस्ताक अलीको बायाँ हातमा चोट लागेको छ ।

उनको मोबाइल फोन खोसेर लगिएको जनाइएको छ । सशस्त्र प्रहरी हवल्दार जितेन्द्र प्रसाद सहनीको बायाँ गोडामा सामान्य चोट लागेको तथा १३ नम्बर गण पर्सामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र पासवानको टाउकोमा सामान्य चोट लागेको सशस्त्र प्रहरी बलले जनाएको छ । संयुक्त टोलीले करिब ५ लाख मूल्य बराबरका भन्सार छलीका ५ पोका कपडा बरामद गरिएको छ ।

बरामद सामग्री भन्सार कार्यालय बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । सुरक्षा टोलीमाथि आक्रमणमा संलग्नको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि स्थानीय प्रशासन र प्रहरीसंग समन्वय भइरहेको सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख डीआईजी कृष्ण ढकालले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News