मधेश प्रदेशमा पांच वर्ष मुनिका बालबालिकाको प्रतिहजार जन्ममा मृत्युदर ३३ पुगेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमवार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदन अनुसार मधेश प्रदेशमा सबभन्दा बढी सुदुरपश्चिमको ४८ र सबैभन्दा कम गण्डकी प्रदेशको २० जना रहेको पाइएको छ । नवजात शिशु मृत्यदुरमा मधेश प्रदेश तेश्रो स्थानमा रहेको छ । सबैभन्दा बढी सुदूरपश्चिमको प्रति हजार जन्ममा २६, दोश्रोमा कर्णाली २२ र मधेश प्रदेशको २० नवजात शिशु रहेको छ । एक महिना नपुग्दै तिनीहरुको मृत्यु हुने गरेको पाइएको हो ।
सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार जन्ममा दस नवजात शिशुको मृत्यु हुने गरेको उक्त सर्वेक्षण प्रतिवेदनमा औँल्याइएको छ । एक वर्ष उमेर नपुग्दै हुने शिशु मृत्युदरमा मधेश प्रदेश दोश्रो स्थानमा रहेको छ । मधेशमा प्रतिहजार जन्ममा ३० जना रहेको छ । सबैभन्दा बढी सुदूरपश्चिममा ३८ रहेको छ । जुन अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो ।
सबैभन्दा कम बागमती प्रदेशमा प्रति हजार जन्ममा १७ जना शिशुको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय रुपमा भने प्रति हजार जीवित जन्ममा शिशु मृत्युदर २७, नवजात शिशु मृत्यदुर १७ र बाल मृत्युदर ३१ रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण– २०२२ को प्रतिवेदनले गण्डकी प्रदेशमा प्रति हजार जन्ममा बाल मृत्युदर २३ जना रहेको देखाएको थियो । अहिले त्यो घटेर २० जनामा पुगेको हो ।
तथ्याङ्कअनुसार प्रति एक हजार जीवित जन्मेका शिशुहरूमध्ये २७ जनाको एक वर्ष उमेर नपुग्दै मृत्यु हुने गरेको छ । त्यसैगरी, जन्मेको एक महिना पनि नपुग्दै मृत्यु हुने नवजात शिशुको संख्या प्रति एक हजारमा १७ जना रहेको छ। यो तथ्याङ्कले नेपालमा बाल स्वास्थ्यको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारेको छ । सर्वेक्षणले सातै प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशको अवस्था निकै दयनीय रहेको देखाएको छ ।
नवजात शिशु, शिशु र ५ वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिममा अन्य प्रदेशको तुलनामा सबैभन्दा उच्च देखिएको छ । सुदूरपश्चिममा प्रति एक हजार जन्ममा ४८ जना बालबालिकाको ५ वर्ष नपुग्दै मृत्यु हुने गरेको छ, जुन राष्ट्रिय औसतभन्दा निकै बढी हो । त्यस्तै, सोही प्रदेशमा प्रति एक हजार जन्ममा ३८ जना शिशुको एक वर्ष नपुग्दै र २६ जना नवजात शिशुको एक महिना नपुग्दै मृत्यु हुने गरेको पाइएको छ । यसको ठीक विपरीत बागमती र गण्डकी प्रदेशको अवस्था भने तुलनात्मक रूपमा राम्रो देखिएको छ ।
बागमती प्रदेशमा नवजात शिशु मृत्युदर सबैभन्दा कम अर्थात् प्रति एक हजारमा १० जना र शिशु मृत्युदर १७ जना रहेको छ । ५ वर्षमुनिका बालबालिकाको मृत्युदर हेर्दा गण्डकी प्रदेशको अवस्था सबैभन्दा राम्रो देखिएको छ, जहाँ प्रति एक हजारमा २० जना बालबालिकाको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले यो सर्वेक्षण नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरको अनुगमन मूल्यांकन गर्न र योजना तर्जुमाका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउन सञ्चालन गरेको जनाएको छ । यो नेपालको चौथो बहुसूचक सर्वेक्षण हो ।


