राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। रामुकाका अध्यक्ष राजेन्द्र महतोले केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आज घोषणापत्र सार्वजनिक गरेका हुन्।
रामुपाले राज्य र समाजको वैकल्पिक मोडेलको प्रस्ताव गर्दै संविधान पुनर्लेखनको प्रस्ताव अघि सारेको छ। बहुलराष्ट्रिय लोकतन्त्र र स्वशासन राज्य हुनुपर्ने उसको माग छ।
घोषणापत्रमा भनिएको छ, ‘संविधानको पूर्ण संशोधन गरी बहुलराष्ट्रिय लोकतन्त्र स्थापना गर्ने, जहाँ सबै राष्ट्र/समुदायलाई आत्मनिर्णय, स्वायत्तता एवं समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी हुनेछ ।’
सबै आदिवासी, जनजाति, मधेशी, पिछडा वर्ग, दलित, पिछडिएका क्षेत्रलाई स्वशासन र आत्मनिर्णयको अधिकार प्रदान गर्ने, प्रत्येक सांस्कृतिक राष्ट्रको पहिचान, भाषा, धर्म र परम्परालाई संवैधानिक संरक्षण दिने, एकल राष्ट्रवादको अन्त्य तथा साझा राज्य, साझा सत्ताको स्थापना गर्नेलगायतको विषय समेटिएको छ।


