धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को नगराईनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन साह) ले पार्टीको प्रचार कार्यालय उद्घाटन गरी समर्थकहरुसित भलाकुसारी गर्ने व्यापक तयारी गरिएको थियो । तर बालेन साह निर्वाचन क्षेत्र नम्बर ३ मा ‘रोड शो’ समेत गरेनन् ।
उनी पिराडी चोक, रामानन्द चोक हुँदै जिरोमाइलदेखि सोझै जलेश्वर तर्फ लागे । रास्वपाका प्रवक्तासमेत रहेका मनिष झा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् । गत माघ ५ गते तिरहुतिया गाछीमा बालेन पहिलो पटक भाषण गरेर परिवर्तनको उद्घोष गरेका बालेनको ‘रोड शो’ का लागि रास्वपाका उम्मेदवार सहित कार्यकर्ताहरु उत्साहित थिए । तर बालेन साह निर्वाचन क्षेत्र नम्बर ३ मा प्रवेश नै नगरी जलेश्वरतर्फ गएकाले उम्मेदवार झा सहितका नेता, कार्यकर्ताहरु निराश भएका छन् ।
पार्टीका प्रवक्ता समेत रहेका उम्मेदवार झाले बालेनको स्वागतमा नगराईनमा समर्थकहरु सहित कुरिरहेका थिए । बालेन पिराडी चोकबाट जिरोमाइल हुँदै जलेश्वर तर्फ लागिसकेपछि मात्र झाले नआउने सन्देश पाएका थिए । बालेन नआउने खबरबाट निराश बनेका झाले कांग्रेस समर्थकहरु मदिरामा मात्तिएर विरोध गर्न सक्ने सम्भावना देखिएपछि सुरक्षाको कारण वरिष्ठ नेता बालेन सोझै जलेश्वर तर्फ लागेको सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिएका छन् ।
मधेश प्रदेशमा प्रवेश गर्दै राजविराज पुगेपछि मधेशका सम्मानित नेता स्व. गजेन्द्रनारायण सिंहको शालिकमा गाडीबाट नै माला फालेपछि बालेन विवादमा परे । राजविराजमा ‘रोड शो’ को क्रममा नेता चोकमा पुगेपछि उनले स्व.सिंहको शालिकमा माला फाल्दै अगाडि बढेका थिए । स्थानीयहरुका अनुसार बालेनले माला फाले पनि श्रद्धापूर्वक नमन समेत नगरी हिडेका थिए ।
रास्वपाका नेताहरुका अनुसार बालेन साह सिरहाको निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर २ लाई प्राथमिकता साथ ‘रोड शो’ गरेका थिए । क्षेत्र नम्बर १ बाट पूर्व मन्त्री बब्लु गुप्ता र क्षेत्र नम्बर २ बाट शिवशंकर यादव रास्वपाका उम्मेदवार छन् । बालेनको ‘रोड शो’ मा सिरहाको १ र २ मा रास्वपाका समर्थकहरुको भारी भीड थियो ।
सडकको दुबै तर्फ लाम लागेका समर्थकहरुले बालेन सरकारको नारा लगाएका थिए । उनी सिरहाबाट यदुकुहा हुँदै निर्वाचन क्षेत्र नम्बर २ मा भव्य ‘रोड शो’ गरे । रास्वपाबाट धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा रामविनोद यादव उम्मेदवार छन् । सो क्षेत्रको प्रायः सबै महत्वपूर्ण वडाहरुमा बालेन पुगेका थिए । तर धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा नआउँदा झाप्रतिको असन्तुष्टि बालेनले पोखेको चर्चा अहिले सामाजिक सञ्जालमा चुलिएको छ ।
गुटखा र चाउचाउ उद्योगका मालिक कमलकिशोर मालपानीले राजस्व छलिएको ८ करोडको गाडी बालेनले चुनावी प्रचारमा प्रयोग गरेपछि आलोचना हुन लाग्दा रास्वपाका प्रवक्ता मनिष झाले उनको आलोचना गरेका थिए । त्यस बखतदेखि नै बालेन झाप्रति रुष्ट बनेको बताइन्छ । यद्यपि प्रवक्ता झाले कांग्रेसका समर्थकहरु मदिरा सेवन गरी विरोध गर्ने संकेत आएपछि सुरक्षाको कारण बालेन जलेश्वर तर्फ लागेको बताएका छन् ।
तर गुदी कुरा भने गाडी प्रकरणमा सार्वजनिक सञ्चार माध्यमहरुमा बालेनको आलोचना नै रहेको छ । धनुषा क्षेत्र नम्बर ३ का एकजना प्रभावशाली नेताका काञ्छा पुत्र बालेन साह मेयर रहेको बखत ‘कोर टीम’ मा रहेर कार्य गरेका थिए । बालेनको टिममा रहेर काम गरेको कारण मात्र नभइ व्यक्तिगत सम्बन्धसमेत अत्यन्त प्रगाढ रहेकाले बालेनलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा असहज भएको स्रोतले जनाएका छन् । महोत्तरीमा गएका बालेनलाई कयौं क्षेत्रका समर्थकहरुले हेर्न पाएनन् ।
पूर्वनिर्धारित रुटहरुलाई छोट् याउँदै बालेन साहले ‘रोड शो’ गरेपछि स्वागतार्थ घण्टौ लाम लागेका समर्थकहरु निराश भएका थिए । मधेश प्रदेशमा बालेन साहको व्यापक क्रेज देखिएको छ । रास्वपाका समर्थकहरुले छुटेको क्षेत्रहरुमा बालेन फेरि आउने दाबी गरिरहेका छन् । तर उनी उम्मेदवार रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा पर्याप्त समय दिनु पर्ने भएकाले जिल्ला दौडाहा कम गर्ने बताइन्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसित चुनावमा भिडेका ओली देश दौडाहा गरेर निर्वाचनमा जीत निकाल्न सहज नभएको क्षेत्र ५ का रास्वपा समर्थकहरु बताउन थालेका छन् ।



