नेपाल– भारतको मुख्य सुक्खा बन्दरगाह क्षेत्र अवस्थित वीरगञ्जसम्म रेल ढुवानीमा व्यापक समस्या रहेको भन्दै समाधानका लागि व्यवसायीले माग गरेका छन् । भारतको बन्दरगाह हुँदै नेपाल भित्रिने मालसामानको रेल ढुवानी तीन महिनादेखि अवरुद्ध हुँदा उद्योग नै संकटमा पर्ने अवस्था आएको उद्योगी तथा व्यवसायीले गुनासो गरेका छन् ।
भारतको कोलकाता र विशाखापटनम् बन्दरगाहबाट वीरगञ्ज सुक्खा बन्दरगाहसम्म आइपुग्न कमसेकम तीनदेखि सात दिनसम्म लाग्ने रेल्वे ¥याक अहिले १० देखि २५ दिनसम्म लाग्ने गरेको उद्योगीहरुको भनाइ छ । भारतबाट नेपाल आउने सामान अल्झिन थालेपछि कच्चा पदार्थ अभाव, उत्पादन अवरोध र लागत वृद्धिको दोहोरो मार खेपिरहेको उनीहरुले दुखेसो पोखेका छन् ।
भारतीय रेल्वे नेटवर्कले यात्रुवाहक रेललाई प्राथमिकता दिइनु, मालवाहक रेललाई पर्याप्त ¥याक नदिनु र सीमावर्ती क्षेत्रमा प्रशासनिक समन्वय तथा सहकार्य कमजोर हुनुले ढुवानीमा ढिलाइ हुने गरेकोलगायतका समस्या स्थानीय उद्योगी व्यवसायीको छ । कतिपय अवस्थामा रेल्वे ¥याक रक्सौल–वीरगञ्ज सीमानाका नजिक आइपुगेपछि पनि धेरै दिनसम्म रक्सौलमै थन्क्याइने गरेको व्यवसायीहरु बताउँछन् ।
वीरगञ्जमा मंगलबार उद्योग वाणिज्य संघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पत्राचार गरी उद्योगी तथा व्यवसायीहरुको समस्या तत्काल समाधान गर्न माग गरेको छ । संघका अध्यक्ष हरि गौतमले भारतको कोलकाताबाट लोड भएको कन्टेनर नेपाल आइपुग्न औसत १५ देखि २५ दिन लाग्न थालेको भनेर पत्रमा उल्लेख गरिएको छ ।
विगतमा तीनदेखि चार दिनसम्म आइपुग्ने मालसामान अहिले करिब एक महिनासम्म कुर्नु पर्ने र यसले उद्योगहरुको उत्पादन तालिका, बजार आपूर्ति र मूल्य स्थिरतासहितका हरेक क्षेत्र प्रभावित भएको उक्त पत्रमा उल्लेख गरिएको छ । भारत सरकारका सम्बन्धित निकाय र त्यसमा पनि भारतीय रेल्वे विभागसंग उच्च तहमा कूटनीतिक समन्वय गर्न संघले माग गरेको छ ।
कोलकाताबाट लोड भएको रेल्वे रेक तीन/चार दिनभित्र र विशाखापटनमबाट ६÷७ दिनभित्र वीरगञ्ज आइपुग्ने स्थायी संयन्त्र बनाउन पनि संघले आग्रह गरेको छ । नेपालको कुल आयातमध्ये करिब ८० प्रतिशत वीरगञ्ज नाका हुँदै भित्रिने गर्छ । त्यसमध्ये ठूलो हिस्सा रेलमार्गमै निर्भर छ । रेल ढुवानी अवरुद्ध हुँदा सिमेन्ट, स्टिल, खाद्य प्रशोधन, प्लास्टिक, केमिकल, औषधि तथा निर्माण सामग्री उद्योग सबैभन्दा बढी प्रभावित भएको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बताए । यसले उत्पादन लागत बढाएको, बजारमा कृत्रिम अभाव सिर्जना हुन सक्ने र अन्ततः उपभोक्तामाथि मूल्यवृद्धिको भार पर्न जाने उनले बताए ।
नेपाल–भारत व्यापार सम्झौतामा रेल ढुवानीलाई प्राथमिकता दिने व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन पक्ष कमजोर भएको राजपालले बताए । रेलमार्ग नेपालका लागि सबैभन्दा सस्तो, सुरक्षित र भरपर्दो ढुवानी माध्यमको रुपमा रहेको छ । तर यही प्रणाली अव्यवस्थित हुँदा नेपालको आयात–निर्यात संरचनामै गम्भीर समस्या उब्जिएको उनले बताए । उनले समयमै प्रभावकारी पहल नभए रेल ढुवानीमा निर्भर नेपाली उद्योग अझ गहिरो संकटमा फस्ने र यसको असर समग्र अर्थतन्त्रमा देखिने बताए ।
वीरगञ्ज भन्सार सिर्सिया सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिष्टिन भ्यालीका अप्रेशन इन्चार्ज अभिषेक मिश्र भारतीय रेल्वे प्रणालीमा दुई महिना अघिसम्म समस्या रहे पनि हाल भने त्यो समस्या नरहेकाले मालवाहक रेल कोलकाता र विशाखपटनमबाट वीरगन्ज आउन तुलनात्मक रुपमा कम समय लागिरहेको दाबी गरे । उनले जनवरी लागेयता भारतीय रेल्वेले सेवामा सुधार गरेकाले अब कोलकाताबाट वीरगञ्ज मालवाहक रेल आउन ८ दिन र विशाखापटनमबाट १० दिनमात्र लागिरहेको उनको भनाइ छ ।



