नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच चार बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेश राज दाहाल (दिनेश डिसी)ले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । समझदारीअनुसार प्रत्येक वर्ष हुने प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपालको आधिकारिक पभेलियन स्थापना गरी नेपाली चलचित्र तथा नेपालका पर्यटकीय गन्तव्यको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरिनेछ । त्यस्तै, पोखरालाई चलचित्र र पर्यटनको संगमस्थलका रूपमा विकास गर्न फिल्म फेस्टिभल आयोजना गरिने सहमति भएको छ । सहमतिपत्रमा हस्ताक्षर गर्दै पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले चलचित्र छायाङ्कनका लागि आवश्यक नीतिगत सुधार, अनुमति प्रक्रियाको सरलीकरण र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै चलचित्र बोर्डसँगको सहकार्यले उच्च सम्भावना बोकेका गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय बजारमा अघि बढाउन मद्दत पुग्ने धारणा राख्नुभयो ।
त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाललाई पर्यटनप्रधान देश बनाउन हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
समझदारीपत्रमा चलचित्रमार्फत प्रेरित यात्रालाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रदर्शनी तथा बजारमा संयुक्त प्रवद्र्धन गर्ने, नेपाललाई अडियो–भिजुअल उत्पादनका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने तथा पूर्वाधार विकास र प्रवद्र्धन अभियान सञ्चालन गर्ने विषय समेटिएका छन् ।



