२०८२ फाल्गुन १, शुक्रबार ०७:४५

स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर मधेशको धेरै स्थानीय तह परेको प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको । सबैभन्दा कमजोर १० स्थानीय तहमा सबै पालिकाहरू मधेश प्रदेशकै परेको छ ।

नतिजा अनुसार रौतहटको देवाही गोनाही नगरपालिकाले देशभरमै सबैभन्दा कम ३०.९१ अंक प्राप्त गरी कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ । स्थानीय तहहरूले गर्ने बजेट तर्जुमा, खर्चको अवस्था, राजस्व परिचालन, सुशासन र सेवा प्रवाह जस्ता विभिन्न १७ वटा सूचकका आधारमा गरिएको यस मूल्याङ्कनमा मधेसका धेरैजसो स्थानीय तहको प्रदर्शन सन्तोषजनक देखिएको छैन ।

कमजोर कार्यसम्पादन गर्ने सूचीको दोस्रो स्थानमा पनि रौतहटकै वृन्दावन नगरपालिका रहेको छ । जसले ३१.६९ अंक प्राप्त गरेको छ । त्यस्तै धनुषाको धनौजी गाउँपालिका ३२.८१ अंकसहित तेस्रो र पर्साको धोबिनी गाउँपालिका ३२.८८ अंकसहित चौथो कमजोर स्थानीय तहका रूपमा सूचीकृत भएको छ ।

मूल्यांकनमा धनुषाको सबैला नगरपालिकाले ३४ अंक प्राप्त गर्दा सप्तरीको अग्नीसयर कृष्ण सवरन गाउँपालिकाले ३४.८१ अंक मात्र जोड्न सफल भएको छ । यसैगरी धनुषाकै नगराईन नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिका दुवैले समान ३५ अंक प्राप्त गरेका छन् । कमजोर प्रदर्शन गर्ने १० स्थानीय तहको सूचीमा सर्लाहीको चन्द्रनगर गाउँपालिका ३५.१६ अंकसहित नवौँ र रौतहटको फतुवा विजयपुर नगरपालिका ३५.४१ अंकसहित दशौँ स्थानमा रहेका छन् ।

विशेषगरी रौतहट र धनुषा जिल्लाका स्थानीय तहहरू कार्यसम्पादनमा निकै पछाडि परेको यस तथ्यांकमा देखिएको छ । लेखापरीक्षण, बेरुजुको अवस्था, विद्यालयमा विद्यार्थी टिकाउ दर र स्वास्थ्य सेवा जस्ता आधारभूत सूचकहरूमा यी तहहरूको स्कोर न्यून रहेको जनाइएको छ ।

यस्तै कार्यसम्पादनमा कमजोर देखिने स्थानीय तहहरूले आगामी दिनमा संघीय सरकारबाट प्राप्त गर्ने वित्तीय समानीकरण अनुदानमा समेत कटौतीको सामना गर्नुपर्ने चुनौती रहेको छ ।

Comment


Related News

Latest News

Trending News