मैथिली साहित्यकार रामभरोष कापडि ‘भ्रमर’का दुई कृति एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
जनकपुरधाममा बिहीबार मैथिली विकास कोषमा आयोजित समारोहबीच बालबालिकाहरुका लागि बालसाहित्य ‘जंगलमे मंगल’ र तीसदेखि चालिस वर्षपूर्व लिइएका अन्तरवार्ताहरुको संग्रह ‘गपसप’ नामक पुस्तक विमोचन गरिएको छ । ‘जंगलमे मंगल’ बालसाहित्यको विमोचन बालकक्षाकै विद्यार्थीहरु किर्ति ठाकुर र प्रीन्स कापरले गरेका थिए भने अन्तरवर्ता पुस्तक ‘ गपसप’ भारतीय स्रष्टा डा. योगानन्द झाले गरेका थिए ।
सो अवसरमा विमोचित पुस्तकहरुबारे साहित्यकार, समीक्षक रमेश रञ्जन झाले प्रकाश पारेका थिए । प्राज्ञ रञ्जनले गपसप पुस्तकमा केही दशक पूर्वमा नै लिइएका अन्तरवर्ताहरुमा माधव घिमिरे, गोविन्द झा, पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, हिन्दीका सुप्रसिद्ध कवि अज्ञेय, नेपाली कवि केदारमान व्यथित, डा. आनन्द मिश्र, डा. मौन, जाकी मन्दिर बनाउने राजाका उत्तराधिकारी मधुकर शाह, डा. धीरेन्द्र, नेपाली नाटककार विजय मल्लजस्ता चर्चित व्यक्तित्वहरु सामेल गरिएको बताए ।
प्रा. परमेश्वर कापडिले मैथिली बाल साहित्यमा भ्रमरले जंगलमे मंगल अवश्य पनि महत्वपूर्ण उपलब्धि हुने बताए । साहित्यकार रोशन जनकपुरीले दुबै कृति मैथिली साहित्यको विकासमा योगदान पु¥याउने आशा व्यक्त गरे । भारतीय साहित्यकार चन्दे्रशले भ्रमरका दुबै कृति अध्ययन गर्दा वहाँमा विविध विधामा थप भएको मात्र नभइ यसले मैथिली बालसाहित्य र अन्तरवार्ताको क्षेत्रमा ठूलो उपलब्धि भएको बताए ।
मैथिली विकास कोषका सभापति जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार श्यामसुन्दर शशि, भारतीय साहित्यकार डा. योगानन्द झाले दुबै कृतिबारे प्रकाश पारे ।

