रौतहटमा नक्कली नेपाली रुपैयाँ हजार दरका १४ थान नोटसहित दुई जना पक्राउ परेका छन्। विश्रामपुर बजारस्थित एक किराना पसलमा नक्कली नोट चलाउन खोजेपछि उनीहरू प्रहरीको फन्दामा परेका हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका–१ मा रहेको विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले भुक्तानीका क्रममा शंकास्पद नोट दिएका थिए। पसल सञ्चालकले नोट नक्कली हुनसक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए।
प्रहरी टोली पुगेर जाँच गर्दा वृन्दावन–२ का ३२ वर्षीय दिनेश पटेलको साथबाट हजार दरका १२ थान नक्कली नोट बरामद भएको थियो। त्यस्तै सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान नोट समेत फेला परेको प्रहरीले जनाएको छ। उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले नक्कली नोटको स्रोत र सम्भावित संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ।

