२०८२ फाल्गुन २, शनिबार ०७:३३

नेपालको राजनीतिमा मधेश सधैँ निर्णायक शक्तिको रूपमा रहँदै आएको छ । मधेश प्रदेशका ८ जिल्लामध्ये पर्साको आफ्नै राजनैतिक र व्यापारिक महत्व रहिआएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति घर्किदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ चुनावी प्रतिस्पर्धा बढ्दै गएको छ ।

पर्साको ठोरीकस्थित जंगलदेखि पकाहा मैनपुरको समथर भूभागसम्म फैलिएको यो क्षेत्रमा पुराना र नयाँ भन्दा उम्मेदवारको चरित्रको समेत चर्चा चुलिएको छ । यसपालीको चुनामा जेन– जी आन्दोलनको नाममा केही नयाँ राजनीतिक दलबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । मुख्यतः नेपाली कांग्रेसका अनुभवी नेता एवं पूर्वमन्त्री रमेश रिजाल , नेकपा (एमाले) का जालिम मियाँ मन्सुरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का टेकबहादुर शाक्यको उदयले यसपालिको चुनाव त्रिकोणात्मक हुने बताइन्छ । यस निर्वाचन क्षेत्र अधिकांश भारतीय सीमासंग जोडिएकोले यहाँको चुनाव सधैँ रोचक देखिएको छ ।

काठमाण्डुको मधेशप्रतिको उदासिनताका कारण समय–समयमा आन्दोलन तथा क्षेत्रीय शक्तिहरूको उदय हुँदै आएको छ । संविधान घोषणा पछि भएको मधेश आन्दोलन र छ महिनाको नाकाबन्दीको रापताममा पर्सा जिल्लाका अधिकांश क्षेत्रमा मधेशी दलहरु उम्मेदवार चुनाव जीते । मधेश आन्दोलनको इपिक सेन्टरको रुपमा रहेको पर्सा जिल्लामा मधेशी दलहरुको अवस्था दयनीय भएको बताइन्छ । यसपालीको चुनावमा मन्त्रीसमेत भइसकेको रिजालसंग प्रश्न उठाएका छन्, ‘कृषि, सडक, सिचाइँ र खानेपानी जस्ता आधारभूत आवश्यकताहरू किन पूरा नभए ? भूमिहीन तथा सुकुम्बासीका लागि लालपूर्जा वितरण गर्ने नारा कागजमै सीमित भएको भन्ने गुनासो समेत गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका दुई प्रतिस्पर्धी उम्मेदवार रिजाल र मियाँ दुवै जना जगरनाथपुर गाउँपालिकाकाका वासी हुन् । यस क्षेत्रमा पटक–पटक सांसद हुँदै मन्त्रीसमेत बनेका रिजालसंग मियाँबीच दोस्रो पटक चुनावी भिडन्त हुने भएको छ । तर यसपटक चुनावी मुद्दा दलगत सिद्धान्त वा विकासभन्दा पनि उम्मेदवारको चरित्र र भ्रष्टाचारमा केन्द्रित भएको देखिएको छ ।

कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रिजाल अधिकांश समय जिल्ला सदरमुकाम वीरगञ्ज वा राजधानीमा बस्ने भएकाले समयमा जनसेवा दिन नसकेको चुनावी आरोप मियाँ पक्षको छ । मियाँ पञ्चायतकाल देखि बाहुबली चरित्रका व्यक्ति भएको रुपमा चिनिन्छन् । वन फँडानीको आरोपमा उनले पञ्चायत व्यवस्था र २०४६ सालको जनआन्दोलन पछि पनि ६ महिना जेल सजाय काटेको उल्लेख गरिन्छ ।

पञ्चायत व्यवस्थादेखि नै स्थानीय तहमा राम्रो पकड राख्दै आएका मियाँ माथि पर्सामा आपराधिक गतिविधि सञ्चालन गरेको आरोप लाग्दै आएको छ । मियाँ २०४६ सालको आन्दोलन पछि शुरुमा कांग्रेसमा प्रवेश गरेका पनि रिजालकै कार्यशैलीको विरोध गर्दै नेकपा माओवादीमा प्रवेश गरेका थिए । पर्सा प्रहरीले मियाँका छोराविरुद्ध दर्ता गरेको बलात्कार मुद्दामा तत्कालीन गृह मन्त्री बादलले सहयोग नगरेको विरोधमा प्रचण्डबाट रुष्ट हुँदै गाँउमै बोलाएर एमालेका अध्यक्ष ओलीबाट माला लगाएर पार्टीमा प्रवेश गरे ।

जगरनाथपुर गाउँपालिका अध्यक्ष हुँदा पाँच वर्षको अवधिमा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मियाँविरुद्ध अख्तियारमा १४ वटाभन्दा बढी उजुरीमाथि छानबिन चलिरहेको बताइन्छ । २०७९ सालको निर्वाचनमा रिजालले ५ हजार ५ सयभन्दा बढी मतान्तरले मन्सुरीलाई पराजित गर्दै विजय हासिल गरेका थिए । उक्त निर्वाचनमा रिजालले ३१,२२४ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मियाँ मन्सुरीले २५,६७१ मत ल्याएका थिए ।

यता रास्वपाका उम्मेदवार टेकबहादुर शाक्य पूर्व प्रहरी सहायक निरीक्षक तथा ‘ चाइनिज व्यापारी’का रूपमा चिनिन्छन् । २०७९ सालमा रास्वपाले यहाँ जम्मा १,९४८ समानुपातिक मत पाएको थियो । तर फेरिएको राष्ट्रिय राजनीति र नयाँ पुस्ताको विद्रोही मनोवृत्तिका कारण शाक्यको रास्वपाले यसपटक युवा मत तान्ने दाउमा छन् ।

नयाँ–पुराना भनेर मात्र हुँदैन, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध व्यक्ति चाहिएको मतदाताहरूको माग छ । “नयाँ हुँदैमा राम्रो वा पुरानो हुँदैमा नराम्रो भन्ने हुँदैन,” हरिहरपुरका बासुदेव तिवारी भन्छन्, “उम्मेदवारको पृष्ठभूमि कस्तो छ भन्ने थाहा भइहाल्छ। जस्ता छन्, त्यही आधारमा हामीले छनोट गर्छौं ।” यसपटकको निर्वाचनमा जयप्रकाश थारुले नेपाली कम्युनिष्ट पार्टी(नेकपा) बाट उम्मेदवारी दिएका छन् ।

एमालेका पूर्वजिल्ला अध्यक्ष तथा संविधानसभा सदस्यका रूपमा वजनदार छवि बनाएका थारुले ऐन मौकामा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवारी दिएपछि एमाले क्याम्पमा खैलाबैला मच्चिएको छ । थारुको आगमनले एमालेका असन्तुष्ट कार्यकर्ताहरूको साथ पाउने देखिए पछि जालिम मियाँ मन्सुरीको जित्ने सम्भावना कमजोर बन्दै गएको विश्लेषण गर्न थालिएको छ ।

मियाँले मुस्लिम समुदायमा धार्मिक–साम्प्रदायिक कार्ड प्रयोग गरेर भोट बटुल्न खोजेको आरोप अन्य उम्मेदवारहरूले लगाएका छन् । विगतको राजनीतिक तथा सामाजिक चरित्र बुझेका जनताले उनलाई सजिलै विश्वास गरिहाल्ने अवस्था नदेखिएको आरोप उनीमाथि लाग्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News