परिवर्तनको नारा दिई नयाँ पार्टी भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई आगामी फागुन २१ गतेको चुनावको लागि चिनाइरहेको छ ।
देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई भावी मधेशी प्रधानमन्त्रीका रुपमा अघि सारेर रास्वपाले देशव्यापी रुपमा परिवर्तनको नारा दिई माहोल खडा गर्ने प्रयास गरेको छ । रास्वपाले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई उम्मेदवार भन्दै अब नयाँलाई छान्नुपर्ने बताउँदै आएको छ ।
तर, यो पार्टीले मधेसमा उठाएका अधिकांश उम्मेदवार भने ‘नयाँ’ नभई पुरानै पार्टीबाट चुनाव लडेका र राजनीति गरेकाहरू रहेका छन् । प्राइमरी इलेक्सन गराएर उम्मेदवार छान्ने भनेको रास्वपाले आफ्नो त्यो वाचा त पूरा गरेन नै, मनोनयनको आसपास अन्य दलका नेता भित्र्याएर टिकट समेत दियो ।
मधेसमा उसका कतिपय उम्मेदवार त मुद्दा–मामिला लागेका र विवादित छविका पनि छन् । मधेश प्रदेशमा रास्वपाले खडा गरेका पुराना उम्मेदवारहरु सर्लाही ३ बाट नरेन्द्र कलवार साह, बारा २ मा चन्दन कुमार सिंह, बारा ४ मा रहबर अन्सारी, महोत्तरी १ मा प्रमोदकुमार महतो, धनुषा १ किशोरी साह कमल, धनुषा ४ मा राजकिशोर महतो, सर्लाही ४ मा अमरेशकुमार सिंह, सप्तरी ३ मा अमरकान्त चौधरी, सप्तरी ४ मा सीताराम साह, रौतहट १ मा राजेशकुमार चौधरी रहेका छन् ।
नरेन्द्र कलवार साह २०७०, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–३ बाटै भाग लिइसकेका छन् । २०७९ मा माओवादी केन्द्रबाट, २०७४ मा स्वतन्त्र र २०७० मा तराई मधेश सद्भावना पार्टीबाट चुनाव लडिसकेका छन् । २०७९ र २०७४ मा लगातार हारेपनि २०७९ मा विजयी भएको थिए । यसअघि तत्कालिन माओवादीबाट टिकट नपाएपछि रास्वपाबाट खडा भएका छन् । तमलोपाको विद्यार्थी संगठनबाट उदाएका चन्दनकुमार सिंह यसअघि २०७४ र २०७९ मा स्थानीय तहमा चुनाव लडिसकेका छ्न ।
२०७४ को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट बाराको देवताल गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए भने २०७९ मा पराजित भएका थिए । बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका रहबर अन्सारीले २०७९ को प्रदेश सभा चुनावमा माओवादी केन्द्रबाट पर्साबाट जितेका उनी कार्यकाल बाँकी छँदै छोडेर प्रतिनिधि सभाको चुनाव लड्दैछन् ।
महोत्तरी १ बाट उम्मेदवार बनेका प्रमोदकुमार महतोले २०७९ को प्रदेश सभा चुनावमा उनी महोत्तरी १ (ख)मा स्वतन्त्र उम्मेदवार बनेका थिए तर पराजित भएका थिए भने सिरहा–२ बाट उम्मेदवार बनेका शिवशंकर यादव दोस्रोपटक चुनाव लड्दैछन्। उनले लौरो चुनाव चिह्न लिएर २०७९ को प्रतिनिधि सभाको चुनाव लडिसकेका छन् । धनुषा–१ का किशोरी साह कमल २०७४ को प्रदेश सभा चुनावमा धनुषा क्षेत्र–१ (क)बाट निर्वाचित भएका थिए भने २०७९ मा सोही क्षेत्रमा जनमतबाट पराजित भएका थिए ।
धनुषा–४ का उम्मेदवार राजकिशोर महतो तत्कालीन संीय समाजवादी पार्टीबाट २०७४ को प्रदेश सभा चुनावमा धनुषा ४ (ख) को उम्मेदवार बनेका थिए तर पराजित भएका थिए । लामो समय नेपाली कांग्रेसमा राजनीति गरेर सांसद बनेका अमरेशकुमार सिंह अघिल्लो पटक २०७९ सालमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए ।
त्यसअघि लगातार कांग्रेसबाटै सो क्षेत्रमा दुई पटक जितेर सांसद भइसकेका छन् । रास्वपाले सप्तरी–३ का अमरकान्त चौधरीका बुबा चन्द्रकान्त चौधरी २०७४ को चुनावमा राष्ट्रिय जनता पार्टीबाट सप्तरी ३ मा विजयी बनेका थिए । छोरा अमरकान्त चौधरीको राजनीति पनि राजपाबाट अघि बढेको हो। अहिले रास्वपाको टिकट लिएर सोही निर्वाचन क्षेत्रमा उम्मेदवार छन् ।
कांग्रेस सप्तरी क्षेत्र नम्बर–४ को क्षेत्रीय सभापति समेत रहेका उनी २०७४ सालमा प्रदेश सभा निर्वाचनमा सप्तरी ४(क) बाट उम्मेदवार भए पनि पराजित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा खडक नगरपालिकाको मेयर उठेका उनी पराजित भएका थिए । राजेशकुमार चौधरी २०७४ मा कांग्रेसबाट उनी रौतहट १ (ख) मा प्रदेश सभाको चुनाव लडेर पराजित भइकसेका छन् भने २०७९ को चुनावमा भने उनी स्वतन्त्रबाट उठेपनि पराजित भए । यसपटक कांग्रेसबाट टिकट नपाउंदा रास्वपाबाट उम्मेदवार बनेका हुन ।



