रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा लागेको आगजनी ३० घन्टाको अथक प्रयासपछि नियन्त्रणमा आएको छ। बिहीबार दिउँसो अज्ञात समूहले लगाएको आगो शुक्रबार साँझ मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगो नियन्त्रणका लागि गौरस्थित नारायणदल गणबाट दमकलसहित नेपाली सेनाको टोली खटिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन सुरक्षा गस्ती टोली र डिभिजन वन कार्यालयका कर्मचारीहरू निरन्तर खटिएपछि आगलागी नियन्त्रण सम्भव भएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त कुमार साहले जानकारी दिए।
वन कार्यालयका अनुसार २७ स्थानमा घाटगद्दी गरी राखिएको सालको गोलिया काठमध्ये करिब ८ देखि १० हजार क्युफिट काठ जलेको प्रारम्भिक अनुमान छ। उक्त काठ २०७६ सालमा ४ सय केभी प्रसारण लाइन विस्तारका क्रममा काटेर सोही क्षेत्रमा थुपारेर राखिएको थियो।
घटनास्थलमा प्रदेश वन मन्त्री शंकर चौधरी, वन निर्देशक जगरनाथ प्रसाद जैसवाल, रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, नेपाली सेनाका कर्णेल विश्वास बिष्ट, प्रहरी प्रमुख ९एसपी० सिताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी तथा राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक कुमार बुढाथोकीसहित सुरक्षा निकायका अधिकारीहरू पुगेका थिए।
डिभिजन प्रमुख साहले आगलागी नियन्त्रणमा ढिलाइ हुनुमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरूको सक्रियता नदेखिनु पनि एक कारण भएको टिप्पणी गरे। “वन समुदायको जिम्मामा छ भने प्रारम्भिक पहल उपभोक्ता समितिबाटै हुनुपर्छ,” उनले भने, “तर यसपटक त्यस्तो तत्परता देखिएन।”
उनले उपभोक्ता समूहले लामो समयदेखि लेखापरीक्षण र साधारणसभा नगरेकाले काठ बिक्री प्रक्रिया अघि बढ्न नसकेको पनि उल्लेख गरे। सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको जानकारी दिइएको छ।
आगलागी नियोजित हुनसक्ने आशंका गरिएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। गौरबाट ल्याइएको नेपाली सेनाको दमकल अहिले पनि वन कार्यालयमै तयारी अवस्थामा राखिएको छ। आवश्यकता परे पुनः पानी हाल्ने व्यवस्था मिलाइएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।



