जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा सरकार सम्हालेका दलको असफलताका कारण मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको आरोप लगाउनुभएको छ ।
शनिबार काठमाडौंको राष्ट्रिय प्रेस क्लवमा आयोजित कार्यक्रममा अध्यक्ष यादवले विगतमा सरकार सम्हालेर दुई तिहाई दावी गर्ने दलहरुको असफलता, अकर्मण्यता र अदुरदर्शीताका कारणले मुलुकमा वर्तमान परिस्थीति सिर्जना भएको र ८४ को निर्वाचन ८२ मा गर्ने अवस्था बनेको आरोप लगाउनुभएको हो । जेनजी आन्दोलनपछि बनेको सरकारले राजनीतिक द्वन्द्व र राष्ट्रिय सवालहरूलाई हल गरेर चूनाव गरेको भए आगामी संसद थप प्रभावकारी हुने भएपनि त्यसो हुन नसकेको उहाको भनाइ छ ।
यादवले जेजस्तो परिस्थीति भएपनि चूनाव नजिकिदै गएकाले मुलुक र जनताको समस्या हल हुने गरि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा लोकतन्त्र जोगिएपनि संविधानमा संघीयताको संरचना अझै पनि मिल्न नसकेको उहाले बताउनुभयो । उहाले अव शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गरेर मात्रै मुलुकलाई सफल बनाउन सकिने धारणा राख्नुभयो ।
उहाले निर्वाचनका लागि पार्टीले सार्वजनिक गरेको घोषणा पत्रमा संविधान विज्ञहरू सम्मिलित उच्चस्तरीय संविधान पुनरवलोकन आयोग गठन गरिने देखि स्वदेशमा नै रोजगारी, निशुल्क स्वास्थ्य, शिक्षा, सम्पती छानविन लगाएतका बिषयमालाई प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिनुभयो ।


