चुनावको तिथि नजिकिएसँगै एमाले प्रतिको आक्रोश युवाहरुमा झन् बढ्न थालेको छ । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट लगातार दुई पटक निर्वाचित भएका नेकपा एमालेका उपमहासचिव समेत रहेका रघुवीर महासेठलाई गाउँ प्रवेशमा अवरोध गर्न थालिएको छ ।
नेकपा एमालेबाट उम्मेदवार रहेका महासेठलाई शनिबार निर्वाचन क्षेत्र नम्बर ४ को लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ६ मा मत माग्न नदिइ युवाहरुले फिर्ता पठाएका छन् । नेता महासेठ लगातार प्रतिनिधि सभामा दुई पटक निर्वाचित भइसकेका छन् । तेस्रो पटकका लागि उनी प्रतिस्पर्धामा छन् । तर एमाले प्रति युवाहरुमा आक्रोश बढेकोले उनलाई गाउँहरुमा मत माग्न कठिनाइ हुन थालेको छ । नेता महासेठ धनुषा–४ बाट उनकी पत्नी जुली कुमारी महतो निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार छिन् ।
गत चुनावमा महासेठ दम्पत्ती नै निर्वाचित भएका थिए । क्षेत्र नम्बर ३ बाट जुलीले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका उम्मेदवार अनिल कुमार झालाई पराजित गरेकी थिइन् । महासेठले नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवसित झिनो मतान्तर (१ सय २४) ले जितेका थिए । उनले लगातार दुई पटक यादवलाई पराजित गरेका हुन् ।
दुई पटक नै चुनाव जिते पनि क्षेत्रमा विकासको कार्य नगरेको युवाहरुको आरोप छ । लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ६ र ७ को निकाल टोलमा उम्मेदवार महासेठ घरदैलो गर्न शनिबार गएका थिए । तर गाउँका युवाहरुले उनलाई विगतमा दुई पटक जिताए पनि एउटा सडकसमेत नबनाएको बताउँदै गाउँमा घुम्न अवरोध गरेका थिए । युवाहरु आक्रोशित र बढी संख्यामा देखिएपछि महासेठ फर्किएको स्थानीय वासिन्दाहरुले जनाएका छन् ।
२०७९ सालको प्रतिनिधि सभा चुनावमा महासेठलाई सो वडामा राम्रो मत परेको थियो । मुसलमानको बाहुल्यता रहेको सो टोलमा उनलाई यस पटक प्रवेशमा नै रोक लगाइएको छ । युवाहरुले आगामी दिनमा मत माग्न नआउन चेतावनी दिएको बताइएको छ । नेता महासेठलाई बटेश्वर गाउँपालिकामा गत हप्ता समेत युवाहरुले अबरोध गरेको बताइएको छ ।
नक्टाझिझको श्रीपुर टोलमा उम्मेदवार महासेठलाई युवाहरुले हैरान गरेका थिए । मधेश प्रदेशबाट एमालेको उच्च पदाधिकारी रहेका महासेठलाई चुनाव प्रचारमा भइरहेको अवरोधको प्रभाव धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ र १ मा समेत पर्ने बताइन्छ । निर्वाचन क्षेत्र नम्बर ३ र १ निर्वाचन क्षेत्र नम्बर ४ सित जोडिएको छ । धनुषा– ३ मा महासेठ पत्नी जुली कुमारी महतो र धनुषा– १ मा रामचन्द्र मण्डल उम्मेदवार छन् । मधेश प्रदेशको सभामुखबाट महाअभियोग लगाएर हटाइएका मण्डलले पद अनुकूल आचरण नगरेको आरोप लगाइएको थियो ।
उनी सभामुख हुँदा पत्नीलाई स्वीपर, एक जना छोरी माली र एकजना भान्सेमा नियुक्त गरेका थिए । अन्य पदहरुमा पनि पारिवारिक सदस्यहरुलाई नियुक्त गरेका थिए । छोरा र ज्वाई समेत प्रदेश सभामा कर्मचारी राखेका थिए । विकास निर्माणको बजेटलाई उनले दुरुपयोग गरेको आरोप समेत लागेको थियो । दुई पटक प्रदेश सभामा निर्वाचित भएका मण्डल पूर्ण कार्यकाल पदमा रहन सकेनन् । विपक्षी उम्मेदवारहरुले एमाले नेता मण्डलको सभामुख कार्यकालको विषयहरु चुनावमा उठाइरहेका छन् ।
उपमहासचिव महासेठलाई क्षेत्रमा जेन– जीहरुले अवरोध गर्न थालेपछि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा समेत असर पर्ने बताइन्छ । निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता समेत रहेका मनिष झा उम्मेदवार छन् । नेपाली कांग्रेसबाट विमलेन्द्र निधिले उम्मेदवारी दिएका छन् । भदौ २३ र २४ गते भएको जेन– जी आन्दोलनमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए ।
त्यसमा भएको जनधनको क्षतिको जिम्मेवारी एमालेले लिनुपर्ने जेनजीहरुले दबाब दिँदै आएका छन् । नेता महासेठले गत चुनावमा भारतीय महिलाहरु विरुद्ध दिएको अभिव्यक्ति (एक हातमा सिन्दुर र एक हातमा नासगरिकता) सम्भव नभएको मुद्दा यो चुनावमा पनि उठेको छ । एमालेमा नेता महासेठ अध्यक्ष ओलीका निकट मानिन्छ । जेन– जी आन्दोलनको ताप अझै कायम रहेको र युवाहरु एमाले प्रति सकारात्मक भइ नसकेको अवस्था देखिएको छ ।
झापाको ५ नम्बर निर्वाचन क्षेत्रमा एमाले अध्यक्ष विरुद्ध काठमाण्डु महानगरपालिकाका निवर्तमान मेयर बालेन साहले उम्मेदवारी दिएका छन् । महासेठलाई सम्पर्क गर्दा उनको फोन उठेन ।



