२०८२ फाल्गुन ३, आईतवार ०७:२२

महाशिवरात्रि पर्वमा भगवान शिवको उपासना गरी मनाइँदैछ ।

जनकपुरधामसहित देशभरिकै शिवालयहरुमा विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री आराध्यदेव भगवान महादेव अर्थात् शिवको उपासना गरिने हिन्दूहरुको मुख्य पर्वको रुपमा मनाइँदै आएको छ । देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदैछ ।

शिवरात्री भगवान शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको मानिन्छ । हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ । यिनै चार रात्री मध्ये शिवरात्री एक पवित्र पर्वका रूपमा रहेको छ । सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने भगवान शिवको प्रिय दिनका रूपमा पनि महाशिवरात्रि पर्वलाई लिइने गरिन्छ ।

व्रत उत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन र शिव पार्वतीको विवाह भएको दिनका रुपमा शिवरात्रि पर्व मनाइन्छ। निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।

महाशिवरात्रि पर्वलाई पर्वको राजा भनिन्छ । महाशिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।

Comment


Related News

Latest News

Trending News