वीरगञ्जमा सुरक्षाकर्मीमाथि आक्रमण तथा सरकारी कारबाही अवरोध गरेको आरोपमा कुख्यात तस्कर मदन गुप्ता उर्फ ‘रुन्चे मदन’सहित सात जनाविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव मुद्दा दर्ता गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार माघ २६ गते वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित गुप्ताको गोदाममा भन्सार छलीका अवैध सामान भण्डारण गरिएको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल गुल्म हेडक्वार्टर वीरगञ्ज (१३ नं. गण पर्सा) र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोली चेकजाँचका लागि पुगेको बेला आक्रमण गरिएको थियो ।
सो क्रममा गुप्ताको योजनामा एक समूहले सुरक्षाकर्मीमाथि ढुंगा, मुढा र भाठा प्रहार गर्दै आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परी सशस्त्र प्रहरी बलका तीन जना घाइते भएका छन् भने सरकारी सवारीसाधनसमेत तोडफोड गरिएको छ। घटनापछि प्रहरीले संलग्न रहेको आरोपमा प्रमोद कुमार कानु (४६), दिपराज सहनी मलाह (३८), कुन्जन सर्राफ (२०), प्रभु महतो (४०), पृतम कुमार चौधरी (३५) र श्रीचन्द्र प्रसाद साह (५५)लाई पक्राउ गरेको छ ।
पक्राउ परेकाविरुद्ध ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । घटनाका मुख्य आरोपी मदन गुप्ता भने हाल फरार रहेका छन् ।
प्रहरी प्रवक्ता प्रनाउ हरि बहादुर बस्नेतका अनुसार फरार गुप्ताको खोजी तीव्र पारिएको छ र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा अनुसन्धान कार्य जारी रहेको छ ।



