२०८२ फाल्गुन ३, आईतवार ०७:३९

हरेक वर्षझैं यसवर्ष पनि मिथिला नाट्यकला परिषद् (मिनाप) ले जनकपुरधाममा दुई दिवसीय होरी महोत्सव तथा ‘महामूर्ख सम्मेलन’ आयोजना गर्ने भएको छ ।

आउंदो फागुन १६ गते होरी महोत्सव र फागुन १७ गते महामूर्ख सम्मेलन सम्पन्न गर्ने मिनापले निर्णय गरेको जनाएको छ । परिषद्का अध्यक्ष सुनिल मलिल्कले होरी महोत्सवमा सहभागी हुन इच्छुक होरैया टिमहरूलाई आ– आफ्नो टिमको नामावलीसहित मिनापसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनका अनुसार मिथिलाञ्चलको मौलिक सांस्कृतिक परम्परालाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमलाई यस वर्ष पनि भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ । अध्यक्ष मलिल्कका अनुसार यसपटकको ‘महामूर्ख’ उपाधि प्रदान गर्न योग्य व्यक्तिको खोजी तीव्र गतिमा अघि बढाइएको छ ।

हाँस्य–व्यंग्यमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना हुँदै आएको सम्मेलनमा विभिन्न सांस्कृतिक प्रस्तुति, व्यंग्यात्मक वक्तव्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिने जनाइएको छ । जनकपुरधाममा वर्षेनी आयोजना हुने यो महोत्सवले स्थानीय कला, संस्कार र सामुदायिक एकतालाई थप सुदृढ बनाउँदै गएको आयोजक पक्षले दाबी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News