मैथिली विकास कोषको जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवको पाँचौं श्रृंखला भव्यताका साथ सञ्चालन हुन लागेको छ । कोषको आयोजना र शिक्षा तथा संस्कृति मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाको सह– आयोजनमा हुने यो महोत्सव फागुन ५ गतेदेखि ८ गते सम्म संचालन हुनेछ । कोषले शनिबार एक पत्रकार सम्मेलन आयोजना गरी महोत्सव बारे जानकारी दिएका छन् ।
पत्रका सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले भने, ‘मैथिली भाषा, साहित्य र संस्कृति हाम्रो पहिचान हुन् । हामीले यस महोत्सवमार्फत चार दिने कार्यक्रम अवधिभरि भाषा, साहित्य, कला, नाटक र सामाजिक विमर्शलाई जिवित राख्ने प्रयास गरेका छौँ । जनकपुरधामवासीले यस महोत्सवमा आफ्नो सक्रिय सहभागिता देखाउनु नै हाम्रो उत्साह र प्रतिबद्धताको प्रतिफल हो ।’ उनले थपे, ‘मैथिली विकास कोष स्थापना कालदेखि नै भाषा, साहित्य, संस्कृति र कलाक सम्मानमा निरन्तर लागिरहेको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुने महोत्सवले सांस्कृतिक सृजनालाई प्रवद्र्धन गर्नुका साथै समाजका संवेदनशील विषय, सामाजिक न्याय, स्त्रीवाद, दलित विमर्श र शिक्षा जस्ता विषयमा गहन विमर्शको माध्यम पनि बनेको छ ।’ सो महोत्सवमा कुल २० भन्दा बढी विभिन्न विषयमा कार्यक्रम आयोजना गरिनेछ भने उद्घाटन समारोहपछि शहरको शोभा यात्रासहित सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ । महोत्सव अवधिभरि विद्यालयस्तरीय वक्तृत्वकला, कविता वाचन प्रतियोगिता, लोकनृत्य प्रतियोगिता, मिथिला चित्रकला कार्यशाला र प्रदर्शनी, पुस्तक प्रदर्शनी, मैथिली आख्यान लेखन तथा विभिन्न विमर्शात्मक कार्यक्रमहरु समावेश गरिएको छ ।
नाट्य क्षेत्रमा नेपालको मिनाप, रङ्गदर्पण जनकपुर र भारतको चेतना समिति पटना लगायतका नाट्य समूहले आफ्नो प्रस्तुति दिनेछन् । प्रमुख नाटकहरुमा छुतहा घैल, कथा नइ भेटल, जटजटिन र देसिल बयना बहुरुपिया प्रदर्शन गरिने जनाइएको छ । सांस्कृतिक कार्यक्रमका साथै समाजिक विमर्शहरुमा उठलै किए विहाडि? (राजनीति), पग पग पोखरी पियासल लोक, भाषाः राजकाज र समाज, मैथिली साहित्यक समकालीन स्त्रीवाद, सामाजिक सञ्जालः अवसर र चुनौती, लगायतका महत्वपूर्ण विषयहरुमा विशेषज्ञहरूको विचार राख्ने लगायतका कार्यक्रम समेत समेटिएको छ ।
महोत्सवको विशेष आकर्षणमा मिथिला भोजन प्रदर्शनी, चित्रकला प्रदर्शनी, हस्तकला प्रदर्शनी, नेपाली र भारतीय विद्वान तथा गायक– गायिकाको सांस्कृतिक प्रस्तुति समावेश छन् । महोत्सव अन्तर्गत चौथो दिन (फागुन ८ गते) समापन समारोहमा पुरस्कार वितरण, कवि गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गरिने छ । मैथिली विकास कोषले विगत जस्तै महोत्सवमार्फत भाषा, साहित्य, कला र संस्कृतिको विकासमा ठूलो योग्दान पु¥याउने उद्देश्य रहेको छ ।


