२०८२ फाल्गुन ४, सोमबार ०६:५०

सोमबारदेखि फागुन १८ गतेसम्मका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले प्रचारप्रसार गर्न पाइने भएको छ ।

राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।

यही फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यक्रम अनुसार सोमबारदेखि थालिएको प्रचारप्रसारका कार्यक्रमअघि आइतबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पु¥याउने वा पु¥याउन लगाउने काम नगर्न निर्देशन दिएका छन् ।

त्यस्तै थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पु¥याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पु¥याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्देशन दिए ।

निर्वाचनको नतिजामा प्रभाव पार्न कुनै उम्मेदवार वा उनका परिवारको सदस्यको कुनै पनि किसिमले चरित्र हत्या गर्न वा गराउन वा कुनै तबरबाट डर, त्रास तथा धम्की दिन नहुने आयोगको निर्देशनमा उल्लेख गरिएको छ । निर्वाचनको प्रचारप्रसार गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता, २०८२ मा उल्लेख भए बमोजिम ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इञ्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहितको पर्चा वितरण गर्नबाहेक कुनै प्रकारको पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन, कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन, सभा वा भेलामा वा त्यस्तो सभा वा भेलाका लागि सूचना प्रवाह गर्ने प्रयोजनका लागि बाहेक अन्यत्र साउण्ड सिस्टमको प्रयोग गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।

मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने भनी आयोगले राजनीतिक दललाई निर्देश गरेको छ । नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारीसाधन प्रयोग गर्न वा गराउन, कुनै सवारी साधनको प्रयोग गरी र्याली गर्न वा गराउन नहुने पनि आयोगले जनाएको छ ।

निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने, निर्वाचन प्रचारप्रसारमा प्रचलित संघीय कानुन विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने आयोगले निर्देशन दिएको छ । त्यस्तै निर्वाचन आयोगले राजनीतिक दल वा दलको निर्वाचन प्रतिनिधिले सवार ीसाधन प्रयोग गर्न सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिएको छ ।

आयोगले जारी गरेको ६४ बुँदे निर्देशनमा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधनबाहेक अन्य कुनै किसिमको साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने पनि आयोगको निर्देशन छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा मतदातालाई मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले मतदाता परिचयपत्र कब्जा गरी राख्न, बिगार्न वा खरिद गर्न, मतदान अधिकृतको स्वीकृतिबिना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने विषयमा आयोगले ध्यानाकर्षण गराएको छ ।

Comment


Related News

Latest News

Trending News