२०८२ फाल्गुन ४, सोमबार ०७:०३

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा सहयोग गरेका, उम्मेदवारसँगै मत माँगेका र जुन पार्टीबाट चुनाव लडेका थिए, आउंदै चुनावमा त्यसै दल र उम्मेदवार विरुद्ध प्रतिस्पर्धा गर्ने अवस्था देखिएका छन ।

सर्लाही १ मा नयाँ पुराना गरी दलगत र स्वतन्त्र गरी २८ जना चुनावी मैदानमा उत्रेका छन् । पुराना दलका स्थापित अनुहार र नयाँ प्रतिस्पर्धीबीचको भिडन्तले यसपटकको चुनाव रोचक बन्ने देखिएको छ । अघिल्ला निर्वाचनहरूमा फरक–फरक प्रतिनिधि चयन गर्दै आएको यो क्षेत्रमा मत विभाजन नै निर्णायक बन्न सक्ने आकलन गरिएको छ ।

यस क्षेत्रमा नेपाली कांग्रेसले शम्भुलाल श्रेष्ठलाई उमेदवार बनाएको छ भने नेकपा एमालेबाट मनोजकुमार देवकोटा चुनावी मैदानमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रमोद साह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नीतिमा भण्डारी कार्की र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामप्रकाश चौधरी उमेदवार छन् । उमेदवारी दिएकामध्ये शम्भुलाल, प्रमोद र रामप्रकाश यस क्षेत्रका पूर्वप्रतिनिधिसभा सदस्य भइसकेका उम्मेदवार हुन् । यसले प्रतिस्पर्धालाई थप चासोको विषय बनाएको छ । एमालेका मनोज र रास्वपाका नितिमा नयाँ उम्मेदवार हुन् ।

२०७९ को निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी २४ हजार ८३८ मत प्राप्त गरी कांग्रेस र नेकपा एसको सहयोगमा विजयी भएका थिए । त्यसबेला स्वतन्त्र उमेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत ल्याएका थिए भने जसपा नेपालका प्रमोद साहले १४ हजार २५५ मत प्राप्त गरी तेश्रो भएका थिए ।

२०७४ सालको निर्वाचनमा भने प्रमोद तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २२ हजार ३६ मतसहित विजयी भएका थिए । त्यसबेला एमालेका ध्रुवप्रसाद गौतमले २१ हजार ४६४ मत प्राप्त गरेका थिए भने कांग्रेसका शम्भुलाले १७ हजार ९४६ मत ल्याएका थिए । प्रत्येक निर्वाचनमा फरक प्रतिनिधि चयन गर्ने प्रवृत्ति देखिएको सर्लाही–१ मा यसपटक पनि मत विभाजन नै निर्णायक बन्न सक्ने विश्लेषण गरिएको छ ।

यसपटक भने कुनै पनि दलबीच चुनावी गठबन्धन छैन । प्रमुख दलहरू आफ्नै उमेदवारसहित मैदानमा छन् । सो क्षेत्रमा नौजना स्वतन्त्र उमेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उमेदवारहरूमा अरुणकुमार महतो सुडी, गम्भीर हरि अधिकारी, भरत चौधरी, माधो पासवान दुसाध, मोहन पासवान, राम कलास, रामदुलार महतो, राम परीक्षण यादव र रेवतकुमार अधिकारी रहेका छन् । निर्वाचन आयोगका अनुसार, यस क्षेत्रमा एक लाख ३० हजार ८७१ मतदाता छन् ।

यस निर्वाचन क्षेत्रअन्तर्गत पर्ने दुई प्रदेशसभा क्षेत्रमा अघिल्लो निर्वाचनमा १ मा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी र अर्कोमा नेकपा (एकीकृत समाजवादी) विजयी भएका थिए । सो क्षेत्रमा पाँच स्थानीय तह समेटिएको यस निर्वाचन क्षेत्रमा चन्द्रनगर गाउँपालिका, लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिपुर नगरपालिका र कविलासी नगरपालिकामा नेपाली कांग्रेसका प्रमुखहरू निर्वाचित छन् ।

स्थानीय तहमा कांग्रेसको वर्चस्व रहेकाले प्रतिनिधिसभा निर्वाचनमा त्यसको प्रभाव कत्तिको पर्छ भन्ने विषय पनि चासोका रूपमा हेरिएको छ । मधेशी र पहाडी समुदायको मिश्रित बसोवास रहेको सर्लाही १ मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । चुरेभेगको सिन्धुलीसँगको सीमादेखि मधेशको समथर भू–भागसम्म पर्ने सर्लाही १ मा चन्द्रनगर गाउँपालिका पुरै (१–७), लालबन्दी नगरपालिका पुरै (१–१७), ईश्वरपुर नगरपालिका १५ बाहेक सबै (१–१४), हरिपुर नगरपालिका १ बाहेक सबै (२–९), कविलासी नगरपालिका १, २ र ७ पर्छ ।

सर्लाही १ मा कृषि विश्व विद्यालय स्थापना, सुनकोशी–मरिण सिँचाई आयोजनाको पानी ल्याउने, लालबन्दी– मरिण–नेपालथोक सडक सञ्जाल निर्माणलगायतका मुद्दा केही समयदेखि उठ्दै आइरहेको छ । चुनावी सरगर्मी बढ्दै जाँदा सर्लाही १ का मतदाता भने अहिले उखु काट्ने, दलहन तथा तेलहन बाली थन्काउने, हिउँदमा फुर्सदको समय भएकाले मजदुरी गर्न विभिन्न ठाउँमा पुग्ने र गहुँ बालीमा मलखाद गर्ने काममा ब्यस्त रहेका छन् ।

Comment


Related News