नेपालको पशुपतिनाथलाई भारतको झारखण्डस्थित वैद्यनाथधाम (बाबाधाम) संग जोड्ने गरी २५० किलोमिटर लामो ‘ पशुपतिनाथ–वैद्यनाथधाम हाई–स्पीड कोरिडोर’ निर्माण हुने भएको छ । उक्त नयाँ ग्रीनफिल्ड एक्सप्रेस– वेले हाल १४ घण्टा लाग्ने यात्रालाई घटाएर करिब ४ घण्टामा सीमित गर्ने लक्ष्य राखेको छ ।
नेपाल सरकारले थालेको निजगढ– काठमाण्डु द्रुतमार्ग सम्पन्न भएपछि बैद्यनाथधामदेखि काठमाण्डुको पशुपतिनाथसम्मको यात्रा ४ घन्टामा पूरा हुन भएको छ । भारतको बिहार सरकारले धार्मिक पर्यटन र क्षेत्रीय कनेक्टिभिटीलाई गति दिने उद्देश्यले महत्वाकांक्षी परियोजना अघि बढाएको छ ।
बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जायसवालले विधानसभामा उक्त एक्सप्रेस– वे नेपालको राजधानी काठमाण्डुबाट शुरु भइ भीमनगर र वीरपुर हुँदै बिहारको सुपौल जिल्लाबाट भारतीय सीमामा प्रवेश गर्ने जानकारी गराए । त्यसपछि बिहारको मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लामा रहेको प्रसिद्ध वैद्यनाथ धाममा पुग्ने लक्ष्य राखिएको छ । नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकहरूको आगमनले महत्त्वपूर्ण स्थान ओगट्दै आएको छ ।
खुला सिमाना, सहज पहुँच तथा सांस्कृतिक र धार्मिक समानताका कारण हरेक वर्ष लाखौं भारतीय नागरिक नेपाल भ्रमणमा आउँछन् । जसमध्ये ठूलो संख्या धार्मिक आस्था बोकेर आउने गर्दछ । नेपाल पर्यटन बोर्डको तथ्यांकले जनाए अनुसार नेपाल भित्रिने विदेशी पर्यटकमध्ये भारतीय नागरिक अग्रस्थानमा रहन्छन् ।
नेपाल आउने भारतीय पर्यटकमध्ये कति प्रतिशत धार्मिक उद्देश्यले आउँछन् भन्ने यकिन तथ्यांक नभए पनि बढी भारतीय व्यक्तिहरु भने तीर्थयात्राकै लागि आउने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् । भारतबाट बर्सेनि डेढ लाखभन्दा बढी पर्यटक तीर्थयात्रा र बिदा मनाउन नेपाल आउने गरेको एक तथ्यांकले देखाउँछ । हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र भएकाले नेपाल भारतीयहरूका लागि एक प्रमुख धार्मिक गन्तव्य बनेको छ ।
भारतबाट नेपालमा वार्षिक करिब ३ लाख पर्यटक भित्रिने गरिन्छ । सन् २०२५ मा भारतबाट नेपालमा २ लाख ९२ हजार पर्यटक भित्रिएका थिए भने सन् २०२४ को तुलनामा सन् २०२५ मा २५ प्रतिशत बढी संख्यामा भारतीय पर्यटक नेपाल भित्रिए । भारतबाट आउने पर्यटकमध्ये झण्डै ९० प्रतिशत धार्मिक पर्यटक रहने गर्छन् ।
भारतीय धार्मिक पर्यटकहरू नेपालका विभिन्न पवित्र स्थलहरूको दर्शनका लागि पुग्ने गरेका छन् । उनीहरूको मुख्य धार्मिक रोजाइमा पशुपतिनाथ मन्दिर पर्छ । विश्वभरका हिन्दूहरूको लागि आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर मानिन्छ । त्यसमा पनि भारतबाट आउने अधिकांश धार्मिक पर्यटकहरूको पहिलो गन्तव्य पशुपतिनाथ नै हुने गर्छ ।
भारतको चारधाम घुमेपछि पशुपतिनाथको दर्शन नगरे तीर्थयात्रा अपूरो हुने धार्मिक विश्वासले पनि पशुपतिनाथ मन्दिरको दर्शन उनीहरुको लागि अपरिहार्य मानिएको छ । त्यसपछि दोश्रोमा मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिरको दर्शनको लागि भारतीय पर्यटक नेपाल भित्रिने गर्छन् । मुक्तिनाथ हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको साझा तीर्थस्थल मानिन्छ ।
त्यसपछि सीताको जन्मस्थलको रूपमा परिचित जनकपुरधाम भारतीय पर्यटकहरूको आर्कषकको केन्द्रविन्दु रहेको छ । विशेषगरी रामायणसंग आस्था राख्नेहरूका लागि प्रमुख आकर्षणको केन्द्र हो । त्यस्तै बुद्धको जन्मस्थल लुम्बिनी, मनकामना मन्दिर, गोसाइँकुण्ड, बराहक्षेत्र, हलेसी महादेव, स्वर्गद्वारी जस्ता अन्य धार्मिक स्थलहरू पनि भारतीय पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ ।
यस परियोजनाको मुख्य उद्देश्य दुई प्रमुख शिव धामलाई सोझै जोडेर धार्मिक पर्यटनलाई बढावा दिनु र नेपाल– भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने मन्त्री जायसवालले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसले तीर्थयात्रीहरूका लागि सहज र छिटो यात्रा सुनिश्चित गर्नुका साथै यस क्षेत्रमा पर्यटनमा आधारित आर्थिक गतिविधिहरूलाई पनि गति दिनेछ ।
सो हाई–स्पीड कोरिडोर निर्माणले बिहार र झारखण्डका धेरै जिल्लाहरूमा आर्थिक विकास, रोजगारीका अवसर र यातायात व्यवस्थालाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।
यसका साथै, उक्त एक्सप्रेस– वेलाई रक्सौल–हल्दिया र दरभंगा–आमस जस्ता अन्य प्रमुख एक्सप्रेस– वेसंग पनि जोडिने छ । जसले पूर्वी भारतको सडक सञ्जाललाई अझ सुदृढ बनाउने योजना रहेको छ । बिहार राज्य सरकारले उक्त प्रस्ताव केन्द्र सरकारसमक्ष स्वीकृतिका लागि पठाइसकेको जनाइएको छ । केन्द्रबाट स्वीकृति प्राप्त हुनासाथ निर्माण कार्य शुरु हुनेछ ।
बिहार सरकारले आर्थिक वर्ष २०२६/०२७ को बजेटमा सडक निर्माण परियोजनाहरूका लागि ८ हजार २६० करोड भारतीय रुपैयाँ छुट्याएको छ ।
यदि भारतको केन्द्र सरकारबाट छिट्टै स्वीकृति प्राप्त भएमा उक्त महत्वाकांक्षी परियोजना लगभग पाँच वर्षमा सम्पन्न गरिने लक्ष्य लिइएको छ । उक्त एक्सप्रेस– वे निर्माण भएपछि हाल करिब ५३४ किलोमिटर रहेको दूरी घटेर २५० किलोमिटरमा सीमित हुने छ । यसले नेपाल, भारतको बिहार र झारखण्डबीचको व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई ठूलो प्रोत्साहन मिल्ने विश्वास रहेको छ ।


