२०८२ फाल्गुन ५, मंगलवार ०७:५२

रौतहटको फतुवा विजयपुर नगरपालिका–६ का ४५ वर्षीय महन्थ राय यादवले आफ्नै ३५ वर्षीया श्रीमती आरती देवी यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

घरमै हत्या गरेका महन्थ घटनापछि फरार भएका छन् । घर रातिदेखि नै बन्द रहेको देखेपछि स्थानीयवासीले वडा अध्यक्ष रामएकवाल यादवलाई जानकारी गराएका थिए । वडाध्यक्ष यादवले इलाका प्रहरी कार्यालय सन्तपुर, दोस्तियाका प्रहरी टोलीलाई घरको ढोका खोलाउंदा आरतीको शव फेला परेका थियो । उनको टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरिएको थियो ।

घटनास्थलबाट सानो बन्चरो र मासु काट्ने दाउ बरामद भएको प्रहरीले जनाएको छ । वडा अध्यक्षका अनुसार महन्थ र आरतीबीच केही वर्षदेखि सम्बन्ध ठिक थिएन ।

महन्थ पेटभरवामा सानो होटल सञ्चालन गर्दै आएका थिए भने आरती करिब तीन वर्षदेखि उद्योगमा काम गर्ने बहानामा घरबाट बाहिर बस्दै आएकी थिइन् । मृतकका दुई छोरा हाल मामाघरमा बस्दै आएका छन् । महन्थले वडा अध्यक्षलाई फोनमार्फत आफ्नी श्रीमती ‘ चरित्रहीन’ भएकाले हत्या गरेको स्वीकार गरेका छन् ।

रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले प्रारम्भिक अनुसन्धानले दम्पतीबीच लामो समयदेखि विवाद रहेको देखाएको बताएका छन् । उनले अनुसन्धान पूरा नभएसम्म घटनाको कारणबारे ठोस निष्कर्ष निस्कन नसक्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News