२०८२ फाल्गुन ५, मंगलवार १८:५५

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै रौतहटमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यले नेपाली सेनाले जिल्लाभर मोटरसाइकल गस्ती सुरु गरेको छ।
गौरस्थित नारायणदल गणले सोमबारदेखि चारै निर्वाचन क्षेत्रमा मोटरसाइकलमार्फत नियमित पेट्रोलिङ थालेको जनाएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सेनाले पैदल, सवारीसाधन तथा मोटरसाइकलबाट चौबीसै घण्टा गस्ती गरिरहेको छ।

नारायणदल गण, गौर पुरेनवाका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ मा मेजर ९सेनानी०को नेतृत्वमा प्रत्येक क्षेत्रमा एक–एक गुल्म फौज परिचालन गरिएको छ। एक गुल्ममा करिब ११० जना सैनिक रहने व्यवस्था गरिएको बताइएको छ।

जिल्लाका सबै पालिकामा सेना तैनाथ भइसकेको छ। सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दिन–रात निगरानी तथा गस्तीलाई तीव्रता दिएको छ।

सेनाले अति संवेदनशील मतदान केन्द्रमा विशेष सतर्कता अपनाउने, आवश्यक परे अन्य सुरक्षा निकायलाई सहयोग गर्ने, मतपेटिका ढुवानी र मतगणना स्थलको सुरक्षा सुनिश्चित गर्ने जनाएको छ। अन्तिम मतपरिणाम घोषणा नभएसम्म सेना परिचालन यथावत रहने जानकारी दिइएको छ।

मधेश प्रदेशकै संवेदनशील जिल्लामध्ये एक मानिने रौतहटमा विगतका निर्वाचनमा देखिएका तनाव र विवादलाई ध्यानमा राख्दै यसपटक सुरक्षा संयन्त्र थप सशक्त बनाइएको छ। सेनाको सक्रिय उपस्थितिले अवाञ्छित गतिविधि नियन्त्रणका साथै शान्तिपूर्ण वातावरण कायम गर्न मनोवैज्ञानिक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Comment


Related News

Latest News

Trending News