२०८२ फाल्गुन ६, बुधबार ०७:३५

नेपाली कांग्रेसले बुधवार जनकपुरधाममा आयोजना गर्न लागेको आम सभामा १ लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरिएको छ ।

कांग्रेस मधेस प्रदेशले मंगलवार एक पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका ८ वटै जिल्लाबाट एक लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरे । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले आम सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले बताए ।

उनले आम सभामार्फत कांग्रेसले फागुन २१ को निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुने उनको भनाइ छ । ‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौँ,’ यादवले भने, ‘यो सभा मधेसमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम हुनेछ ।’

मधेस प्रदेशमा कांग्रेसका कुनै बागी उम्मेदवार नरहेको भन्दै पार्टी एकताबद्ध र सुदृढ अवस्थामा रहेको सभापति यादवको भनाइ छ । ‘हामी एकढिक्का भएर चुनावमा होमिएका छौँ। पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन,’ उनले भने । जनकपुरधामको तिरुहुतिया गाछीमा हुने आमसभामा कांग्रेसले प्रतीज्ञापत्र पनि सार्वजनिक गर्ने यादवले बताए ।

प्रतीज्ञापत्रमा मधेसका विकास, रोजगारी, कृषि आधुनिकीकरण, शिक्षा, स्वास्थ्य सुधार, पूर्वाधार विस्तार तथा सुशासनका एजेन्डा प्राथमिकतामा राखिएको उनले जानकारी दिए । कांग्रेस र मधेशको सम्बन्ध इतिहासकै गहिरो धरातलमा उभिएको भन्दै सभापति यादवले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन हुँदै २०६२/०६३ को जनआन्दोलनसम्म मधेशका वीर सपूतहरूले कांग्रेसको नेतृत्वमा भएका प्रत्येक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका लागि कांग्रेस सधैँ प्रतिबद्ध रहँदै आएको भन्दै यादवले मधेशसँग भावनात्मक र राजनीतिक रूपमा गहिरो सम्बन्ध राख्ने सभापति सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेर मधेशको जनतासँग प्रत्यक्ष जोडिएको जिकिर गरे ।

Comment


Related News

Latest News

Trending News