२०८२ फाल्गुन ६, बुधबार ०७:४६

मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राको रुपमा परिचित मिथिला परिक्रमाका तीर्थयात्री मंगलवार भारतको कलाणेश्वर पुगेका छन् ।

मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा सोमवारदेखि विधिवत् रुपमा सुरु भएको हो । मंगलवार एकाबिहानै कल्याणेश्वरका लागि प्रस्थान गरेको थियो । बुधवार भारतको गिरिजास्थान पुग्नेछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र मिथिलाबिहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा १५ दिने यात्रा तय गर्नेछ ।

सोमवार राति धनुषाको हनुमानगढमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालु आज बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गरेका हुन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकी मन्दिर भएर जनकपुरको हनुमानगढ पुगेपछि माध्यमिकी परिक्रमाको विधिवत्रुपमा सुरुआत हुने परम्परा रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताएका छन् ।

महाशिवरात्रिलगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालीको फागुन महिना उल्लास एवं भक्तीमय हुने भएको छ । धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट सुरु भई आज सीमावर्ती भारतीय गाउँ कल्याणेश्वर महादेव स्थान पुग्नेछ ।

परिक्रमामा सहभागी क्रमशः फूलहर (गीर्जास्थान) हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ ।

परिक्रमावासी राति गाउँभन्दा टाढा खुला चौर, बगैँचा वा पोखरीको डिलमा विश्राम गर्छन् । स्थानीय बासिन्दाले पनि सहभागीका लागि अन्न, दाउरा तथा परिक्रमामा सहभागी गोरुका लागि परालसमेत उपलब्ध गराउने गर्दछन् । सहभागी दिनभरि यात्रा गर्छन् र भजन, कीर्तन तथा सत्संग गरेर रात बिताउँछन् । नेपाल भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थल छन् ।

मिथिला महात्म्यअनुसार १८औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाकारुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता रहेको छ ।

Comment


Related News

Latest News

Trending News